आहा ∕ रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सहारा र नव जनजागृति सिमरा भिड्दै

पोखरा, ४ माघ। पोखरा रंगशालामा मङ्गलबारदेखि यहाँको सबैभन्दा ठूलो प्रतियोगिता आहा झ् रारा गोल्डकप फुटलबको १४ औं संस्करण सुरु हुँदै छ।

प्रतियोगिताको दिउँसो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नेछन्। तीन विदेशी सहित १२ टिमको सहभागिता रहेको प्रतियोगितामा पहिलो खेल आयोजक सहारा क्लबले सिमराको नव जनजागृति क्लबसँग खेल्दै छ।

गत वर्ष पनि यिनै दुर्इ टिम उद्घाटन खेलमा मैदान उत्रिएका थिए। १३ औँ संस्करणमा पहिलो पटक सहभागी नव जनजागृतिले १२ औं संस्करणको विजेता घरेलु टोलीलाई उद्घाटन खेलमै ३-३ गोलको बराबरीपछि टाइब्रेकरमा पराजित गरेको थियो।

यस पटक दुबै टीममा युवा खेलाडीको जमात छ भने समान तीन जना विदेशी खेलाडी छन्। सहाराको प्रशिक्षकमा किरण श्रेष्ठ र नवजनजागृतिको प्रशिक्षकमा उमेश श्रेष्ठ छन्।

दोस्रो पटक सहभागी नवजनजागृतिका टिम म्यानेजर शंकर थापाले गत वर्ष उद्घाटन खेलमा जित हात पारेको र क्वार्टरफाइनलमा पुलिससँग १-० गोलले हार व्यहोरे पनि यसप टक उपाधि जित्ने लक्ष्यका साथ नै पोखरा आएको बताए।

यद्यपि, खेलाडीहरू सोमबारको पृथ्वीराजमार्ग बन्दका कारण राति नौ बजेसम्म पोखरा आउन नसकेकाले हतारमा आए पनि मैदानमा खरो उत्रने विश्वास व्यक्त गरे। ‘लिग खेलिरहेका खेलाडी छन्। सबै फिट एण्ड फाइन छन्’-थापाले आदर्श समाजसँग भने- ‘मनोबल उच्च भएकाले हामीले जित्नेमा आशावादी छौं।’ नवजनजागृतिका खेलाडीमा सुसन लामा, रवि थापा, दिनेश कार्की, कुमार गिरी, मनिष गुरुङ, जनक कार्की, अजय विकलगायत छन्।

गत वर्ष सुदुरपश्चिम टिमको प्रशिक्षकका रुपमा प्रतियोगितामा सहभागी किरण श्रेष्ठ भने फेरि सहारा क्लबमै फर्किएका छन्। ११ औँ संस्ककरणमा थ्री स्टारसँग फाइनलमा १-० ले पराजित भए पनि १२ औँ संस्करणमा सहाराले मनाङ मस्र्याङ्दीलाई १-० ले नै पराजित गर्दै उपाधि जितेको थियो। एक वर्षको अन्तरालमा क्लब सम्हालेका उनले यस पटक ए डिभिजनका अनुभव लिएका खेलाडीको जमात रहेकाले उपाधि नै जित्ने लक्ष्य लिएको बताए। ‘अनुभवीदेखि किशोर खेलाडी सहभागी छन्। हामी बलिया छौँ’-श्रेष्ठले भने-‘तयारी पनि राम्रो छ। उपाधि बाहिर जान दिँदैनौं।’ सहाराका तर्फबाट यसअघि मनाङबाट खेल्दै आएका भरपर्दा खेलाडीहरू शिव श्रेष्ठ, रुपेश केसीसँगै क्या. उत्तम गुरुङ, बुद्ध लामा, सनी, विनय श्रेष्ठ, सुजित गुरुङ, गौरव थापा, सुजन थापा, कमल थापा र शिव सुवेदी छन्।

उद्घाटन खेलको विजेताले माघ ९ गते युनाइटेड सिक्किम एफसी इण्डियासँग खेल्नेछ। दोस्रो प्रिक्वार्टर फाइनलमा नेपालको एपीएफ र इण्डियन आर्मी गोर्खा ब्रिगेडबीच खेल हुनेछ भने तेस्रो दिन माघ ७ गते आर्मीले जावलाखेलसँग प्रतिष्पर्धा गर्नेछ। अन्तिम प्रिक्वार्टर फाईनलमा माघ ८ गते पुलिस र झापा ११ बीच खेल हुनेछ।

माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारा क्लब र नव जनजागृति सिमरासँगै थ्री स्टार क्लब, मनाङ मस्याङ्दी क्लब, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्रको एपीएफ, झापा ११, जावलाखेल युथ क्लब, इन्डियन आर्मी गोर्खा ब्रिगेड टीम, युनाइटेड सिक्किम एफसी तथा रहमदगञ्ज एमएफ सोसाइटी, बङ्गलादेशको सहभागिता रहनेछ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विजेता टिमले पाँच लाख एक हजार एक रुपैयाँ, उपविजेता टिमले दुर्इ लाख ५१ हजार एक रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र पाउनेछन्।

यसैबीच, तमु धीँ नेपालले सोमबार एक विज्ञप्ति जारी गरी प्रतियोगिता अवधिभर वन्द, हड्ताल नगर्न अनुरोध गरेको छ। संस्थाका अध्यक्ष कर्म गुरुङद्वारा जारी विज्ञप्तिमा प्रतियोगिता यस क्षेत्रको गौरव भएको उल्लेख गरिएको छ।

- अादर्श समाज सम्वाददाता