घर बनाउन लुमन्तिको सहयोग

पोखरा, ६ पुस।पोखरामा लामो समयदेखि डेरामा बस्दै आएका केही व्यक्तिलाई लुमन्तिले शनिबार पोखराका विभिन्न स्थानमा घर बनाउने जग्गा देखाएको छ।   

समुदायको अगुवाइमा आवास कार्यक्रम गर्दै आएको लुमन्तिले विभिन्न जिल्लाबाट पोखरा आएर आ-आफ्नो पेशा व्यवसाय गरि बसेका करिब ४० घरमुलीलाई जग्गा देखाएको हो।

न्यून आएका भएका, पाँच वर्षदेखि पोखरामा डेरा गरि बसेकालाई पोखरामै घर बनाउने सहयोग गर्ने उद्देश्यले लुमन्तिले वडा नं. १७ र १८ मा रहेको जग्गा देखाएको थियो। जग्गा हेर्न गएका धेरैले लुमन्तिको सहयोगमा घर बनाउने योजना रहेको बताएका थिए।

लुमन्ति पोखराका सन्तोष जिसीले न्यून आय भएका परिवारका लागि उनीहरूको आवश्यकताअनुसारको सुरक्षित र समृद्ध आवास बनाउन संस्थाले सहयोग गर्दै आएको बताए।

उनले विभिन्न क्षेत्रबाट पोखरा आएर डेरा गरी बसेकाले शनिबार अवलोकन गरेपछि केही ठाउँमा जमिन मन परेको बताएकाले खरिद प्रक्रिया सुरु गरिने बताए।

संस्थाले घर बनाउनका लागि प्राविधिक सहयोग र आठ प्रतिशत व्याजदरमा चार लाखसम्म ऋण लगानी गर्ने गरेको छ।

यसअघि संस्थाले पोखराको चाउथेका दुर्इ स्थानमा करिब एक सय ३० वटा घर बनाउन सहयोग गरिसकेको छ। ती स्थानमा अहिले घर निर्माण कार्य जारी छ भने केही घर निर्माणपछि बसाइँ सुरु भइरहेको जनाइएको छ।

- एजेन्सी