बन्दबिरुद्ध व्यवसायीहरुको शान्ति र्‍याली

काठमाडौं, २७ कात्तिक।नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल बन्द सधैँका लागि बन्द गरौँ’ भन्दै आगामी दिनमा कोही कसैले पनि बन्द नगर्न आग्रह गरेको छ।

पटक-पटक नेपाल बन्द हुँदा मुलुकको उद्योग व्यवसाय चौपट भएको, नागरिकको दैनिक जनजीवन कष्टकर भएको भन्दै महासङ्घले यस्ता गतिविधि जुनसुकै राजनीतिक दलले आयोजना गरेको भएपनि विरोध गर्नुपर्नेमा जोड दिएको छ।

महासङ्घको आह्वानमा बुधबार राजधानीमा शान्ति र्‍याली आयोजना भएको छ। खुल्लामञ्चबाट सुरु र्‍यालीले काठमाडौ र ललितपुरका विभिन्न भाग परिक्रमा गर्दै पुनः खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो। र्‍यालीपछि आयोजित बिरोधसभामा महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक उद्देश्य पूर्र्तिका लागि गरिने बन्द कसैको लागि पनि फाइदाजनक नभएको भन्दै नेपाल बन्द सधैँका लागि बन्द गर्नुपर्ने बताए। उनले मुलुकको हित गर्छु भन्ने राजनीतिक दलहरु बन्दको साहारा लिएर आफ्नो स्वार्थ पूर्र्ति गर्न लागिपरेको भन्दै यस्ता गतिविधि मुलुकलाई हानी पुर्‍याउने र आर्थिक क्षेत्र तहसनहस भएको भन्दै तत्काल बन्द फिर्ता लिएर शान्तिपूर्णरुपमा प्रस्तुत हुन नेकपा-माओवादी र ऊ सम्बद्ध मोर्चालाई आग्रह गरे।

यसैबीच, सरकारले यातायात बन्द भए पनि आपूर्र्ति व्यबस्था नियमित रहेको दाबी गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले यातायात बन्दको प्रभाव नरहेको र सम्पूर्ण दैनिक उपभोग्य बस्तु यथावतरुपमा आपूर्र्ति भइरहेको दाबी गरे। मिडिया इन्टरनेशनलले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सचिव बास्कोटाले सम्पूर्ण उद्योग कलकारखाना यथावत सञ्चालन भइरहेको, तरकारी, दूध ढुवानीका साधनलाई सुरक्षा दिने, शैक्षिक सस्थाको पठनपाठन नियमित भइरहेकोले बन्दको प्रभाव सकिएको बताए। राजधानीमा इन्धन, खाद्यान्नलगायतको प्रशस्त मौज्दात रहेकोले चुनावको समयमा कुनै अभाव नहुने उल्लेख गरे।

यसैगरी केन्द्रीय कार्यक्रमअन्तर्गत पोखरामा पनि बुधबार पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा शान्ति र्‍याली प्रदर्शन गरिएको छ। नेकपा माओवादीनेतृत्वको मोर्चाले आहृवान गरेको बन्दको अवज्ञा गर्दै र्‍याली आयोजना गरिएको हो। र्‍यालीमा उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, नागरिक समाज, पत्रकार, विद्यार्थी, सर्वसाधारणलगायतको बाक्लो उपस्थिति रहेको थियो। सवारीसाधनसहित गरिएको शान्ति र्‍यालीका सहभागीले बन्द हड्ताल गर्नुभन्दा वार्ता र संवादको माध्यमबाट सहमति खोज्न सम्बन्धित पक्षलाई सुझाव दिएका थिए ।चिप्लेढुङ्गाबाट सुरु र्‍याली सिर्द्धार्थचोक, पस्र्याङ, सिमपानी, बगर, मोहरियाटोल, महेन्द्रपुल, रानीपौवा, बाँझापाटन, मियाँपाटन, कुँडहर, तालचोकहुँदै फर्केर अमरसिंहचोक, रामबजार, बुद्धचोक, एयरपोर्ट, बिरौटा, राष्ट्रबैकचोक, लेकसाइड, जिरोकिमी, चिप्लेढुंगामा पुगेर सभामा परिणत भएको थियो।

- अादर्श समाज सम्वाददाता