बेलायत सरकारले सम्मान सेवा सुविधा नदिँदासम्म आन्दोलन जारी : गुरुङ

पोखरा, १४ भदौ।बेलायती लिवरल डेमोक्रेटिक पार्टीला केन्द्रीय सदस्य धना गुरुङले बेलायतमा रहेका नेपालीहरुले नेपालमा लगानी गर्न इच्छुक भएको बताएका छन्।

प्रेस युनियन नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गर्ने वातावरण निर्माण गर्न अनुरोध पनि गरे।

‘बेलायतमा नेपालीहरुले मातृभूमिमा लगानी गर्न आतुर छन्’-उनले भने-‘सरकारले लगानीमैत्री वातावरण निर्माण नगर्दा हामी अन्यौलमा छौं।’

उनले बेलायती सेनासरह नै गोर्खालीहरुलाई सेवासुविधा दिनुपर्ने माग समेत राखे।

पत्रकार सम्मेलनमा उनले बेलायत सरकारले सम्मान सेवा सुविधा नदिँदासम्म आन्दोलन जारी रहने बताए। उनले गोर्खाली सेनाले बेलायती सार्वभौमसत्ताको लागि लडेको भन्दै गोर्खालीहरुको योगदानलाई बिर्सन नहुनेमा जोड दिए। उनले गोर्खालीहरुको हकहितको लागि सधैँ आवाज बुलन्द पार्नुपर्ने पनि बताए।

बेलायत समान पेन्सन उपलब्ध गराएर बेलायतमा रहेका ३० हजार गोर्खालीमध्ये झण्डै २५ हजार नेपाल फर्किने दाबी पनि गरे। उनले नेपाल सरकारले गोर्खाली मागका बारेमा बेलायत सरकारसमक्ष चासो व्यक्त नगर्नु दुःखद रहेको बताए।

केन्द्रीय सदस्य गुरुङले नेपाल र बेलायत सरकारबीच दौत्य सम्बन्ध भएको झण्डै दुर्इ शताब्दी हुन लाग्दा पनि बेलायती सरकार प्रमुख नेपालमा ल्याउन नसक्नु दुःखद रहेको बताए। उनले कुटनीतिक पहल गरेर बेलायती प्रधानमन्त्री डेभिड कयामरुनलाई नेपाल ल्याउनुपर्नेमा जोड दिए।

यसैबीच, गुरुङले प्रेस युनियन नेपाल कास्कीले स्थापना गरेको अक्षयकोषको लागि ३० हजार एक रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। पत्रकार सम्मेलन युनियनका जिल्ला अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न भएको थियो।

- अादर्श समाज सम्वाददाता