मङ्सिरमै निर्वाचन हुनेमा भारत विश्वस्त : नेपाल

काठमाडौं, १३ साउन।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी मङ्सिर ४ मा निर्वाचन हुनेमा भारत आश्वस्त रहेको बताएका छन्। नेपालको समस्या नेपालीबाटै समाधान हुनुपर्ने उनको भनाइ छ। पाँच दिन लामो भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले घोषित मितिमै निर्वाचन होस् भन्ने भारतीय शुभेक्षा रहेको बताएका हुन्।

नेता नेपालले आफ्नो भारत भ्रमण सद्भाव अभिवृद्धिका लागि भएको बताऐ। दुर्इ देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमण सहयोगी रहेको उनले बताए। नेपालको सङ्क्रमणकाल छिटो टुङ्गोमा पुगोस् भन्ने भारतको सद्भाव रहेको उल्लेख गर्दै नेता नेपालले देशका आन्तरिक समस्यालाई आफैले समाधान गर्नुपर्ने सुझाव भारतले दिएको बताए।

भारतीय प्रधानमन्त्रीसँग दोलालघाटदेखि धनकुटासम्मको मध्यपहाडी राजमार्ग निर्माण, टनकपुरदेखि वनवासासम्मको बाटो निर्माण, नेपालको पर्यटन प्रवर्द्धनका लागि बुद्धिस्ट सर्र्किट निर्माण र हुलाकी मार्गको निर्माणमा तीव्रता दिन सहयोगको आग्रह गरेको बताए। नेता नेपालसहितको एमाले टोली अपरान्ह स्वदेश फर्किएको हो।

भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको औपचारिक निमन्त्रणामा नेता नेपाल गत बुधबार भारतको नयाँ दिल्ली गएका थिए। भारत बसाईका क्रममा उनले प्रधानमन्त्री मनमोहन सिंह, काङ्ग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, विदेश मन्त्री सलमान खुर्सिद, विपक्षी दल भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीलगायतसँग भेटवार्ता गरेका थिए।

- अादर्श समाज सम्वाददाता