नवयुवराजको नाम ‘जर्ज’ राजश्री भएको बेलायती प्रेसको भनाइ

लन्डन, १० साउन।बेलायती प्रेसले युवराज विलियम तथा युवराज्ञी केटले हालै जन्मिएका बालक शिशु नवयुवराजको नाम जर्ज अलेक्जान्डर लुइस राखेकोमा प्रशंसा गर्दै यो नाम राजश्री भएको भनी बिहीबार उल्लेख गरेका छन्।

‘यी शिशुलाई औपचारिकरूपमा जर्ज अलेक्जान्डर लुइस अफ क्याब्रिज भनिनेछ’- सन पत्रिकाले आफ्नो प्रमुख समाचारमा उल्लेख गरेको छ।

यस्तै नामयुक्त समाचार डेली मिरर तथा गार्जियनले पनि प्रथम पृष्ठमा प्रकाशन गरेका छन्। उनीहरूले नवयुवराजको तस्वीर पनि छापेका छन्। उनीहरूले यो नाम राजा हुन उपयोगी भएको उल्लेख गरेका छन्। डेली टेल्रि्राफले आफ्नो प्रमुख समाचारमा यी बालक राजा जर्ज सातौँ बन्ने भाग्ययुक्त भएको उल्लेख गरेको छ। यस पत्रिकाले आफ्नो सम्पादकीयमा नाम छनौटमा युवराज तथा युवराज्ञीले कुनै गल्ती नगरेको जानकारी दिएको छ।

यो नाम राजश्री, ठोस तथा बेलायती भएको दाबी गरिएको छ।

पत्रिकाले अलेक्जान्डरको अर्थ मानवको रक्षक भएको र यो राजश्री भएको दाबी गरेको छ।

डेली एक्सप्रेसले ‘जर्ज’ नाम छनौट गरिएकोमा दम्पतीको प्रशंसा गरेको छ र यो नाम यसअघिका छ राजाले प्राप्त गरेको उल्लेख गरेको छ।

द टाइम्सले पनि यस नामको ऐतिहासिक महत्वको विषयमा लेखेको छ। पत्रिकाले जर्ज नाम दिएर केट तथा विलियमले परम्परालाई पालना गरेको उल्लेख गरेको छ। नवयुवराजको नाममा आधुनिकता पनि रहेको पत्रिकाले उल्लेख गरेको छ।

पत्रिकाले बुधबार युवराज दम्पती नवयुवराजका साथमा सार्वजनिक हुँदाको घटनालाई एउटा मध्यवर्गीय दम्पती पनि आफ्ना नवजात शिशुको साथमा यसरीनै गौरवान्वित हुने उल्लेख गरेको छ। पत्रिकाले वर्तमान महारानीको शासनमा मुलुक परिवर्तन भएको र बेलायती जनता बढी भावुक, कम प्रतिरोधक, कम वर्गीय तहमा विश्वास गर्ने तथा कम भिन्नता गर्ने भएको उल्लेख गरेको छ। पत्रिकाले हाल युवराज दम्पतीले बेलायतमा सजिलो अनुभव गरेको र उनीहरू एक दिन मुलुकको राजा रानी हुने उल्लेख गरेको छ।

- रासस/एएफपी