पूर्वाञ्चल विश्वविद्यालयमा छ करोडभन्दा बढीको अपचलन भएको आरोप

विराटनगर, ३१ असार। पूर्वाञ्चल विश्वविद्यालयका वर्तमान कार्यसमितिबाट करिब छ करोडभन्दा बढी अपचलन भएको आरोप सोमबार आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरूले लगाएका छन्।

विश्वविद्यालयले विभिन्न कलेजहरूलाई सम्बन्धन दिँदा उक्त अपचलन भएको आरोप राजनीतिक दलका जिल्लास्तरीय नेतृत्वहरूले लगाएका छन्।

मुख्य आठ राजनीतिक दल एवं सञ्चारकर्मीहरूबीच सोमबार आयोजित अन्तरक्रियामा सहभागी नेकपा एमालेका मोरङका अध्यक्ष महेश रेग्मीले विश्वविद्यालय पदाधिकारी अहिले पनि आर्थिक अपचलनको उद्देश्यका साथ विभिन्न ६०० उच्च शिक्षाका लागि सम्बन्धन दिन लागिपरेको बताए।

उनले चिकित्साशास्त्रको सम्बन्धन दिन अनियमित तबरले रु. २० देखि ३० करोडसम्म रकम लिने गरेको उल्लेख गरे।

नेकपा एमाओवादीका मोरङ प्रमुख शिवकुमार मण्डलले पूर्वाञ्चलको गहनाको रूपमा रहेको विश्वविद्यालयको शैक्षिक उन्नयन एवं सम्वृद्धिका लागि उपकुलपति, रजिस्ट्रार, दुर्इ डीन र एक प्राध्यापकले अविलम्ब राजीनामा दिनुपर्ने बताए।

कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीला मोरङ अध्यक्ष मोहम्मद कादिरले राजनीतिबाट माथि उठी विश्वविद्यालयको विकास एव्म यस क्षेत्रका विद्यार्थीलाई उचित एवं आधुनिक पठनपाठनका लागि दलहरू सुधार कार्यमा लाग्ने बताए।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका मोरङ अध्यक्ष उमेश यादव, नेपाली काङ्ग्रेस मोरङका कोषाध्यक्ष नागेश कोइराला, सद्भावना पार्टीला मोरङ अध्यक्ष शङ्कर साह, फोरम लोकतान्त्रिकका मोरङ अध्यक्ष चुमनारायण तबदार र नेकपा-माओवादीका सहप्रमुख जितेन्द्र महराले विश्वविद्यालयको सुधार एव्म विश्वविद्यालयप्रति विद्यार्थी एव्म अभिभावकको विश्वास जागृत गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सञ्चारकर्मी मोहन मानन्धर, विजय खतिवडा, विनोद घिमिरे, महाप्रसाद खतिवडालगायतले वर्तमान विश्वविद्यालय पदाधिकारी राजनीतिक दलहरूको भागबन्डामा नियुक्त हुनु राम्रो होइन भने।

- रासस