भारतमा बाढीमा हराएका छ हजार व्यक्तिको मृत्यु भएको अनुमान

देहरादुन, ३१ असार। भारतको उत्तरी भागमा गत महिनामा बाढी तथा पहिरोका कारण हराइरहेका करिब छ हजार व्यक्तिको मृत्युभएको अनुमान गरिएको जानकारी अधिकारीहरूले सोमबार दिएका छन्।

मुसलधार मनसुन वर्षाले हिमाली राज्य उत्तराखण्डलाई जुन महिनामा प्रभावित बनाएको थियो र त्यसका कारण तीर्थयात्री, पर्यटक तथा अन्य बगेका थिए। यस प्रकोपमा पूरै गाउँ तथा नगर नष्ट भएका थिए।

यस प्रकोपका कारण करिब एक हजार व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने अन्य व्यक्ति हराइरहेको बताइएको छ। बाढी प्रभावित क्षेत्रमा सेनाले व्यापक उद्धार कार्यक्रम सञ्चालन गरेको थियो।

उत्तराखण्डका मुख्यमन्त्री विजय बहुगुणाले हराएका व्यक्तिलाई मृत भएको ठानी उनीहरूको परिवारलाई क्षतिपूर्ति दिन थालिने जानकारी दिनुभएको थियो।

बहुगुणाले राज्यको केन्द्रमा एक पत्रकार सम्मेलनमा पाँच हजार सात सय ४८ व्यक्ति हराइरहेको सूचीवद्ध भएको बताउँदै म·लबारदेखि उनीहरूका परिवारलाई क्षतिपूर्ति दिन थालिने बताए।

उनले स्थानीय वासिन्दालाई राज्य सरकारले क्षतिपूर्ति दिने तथा अन्य राज्यका सरकारले उनीहरूका वासिन्दालाई यस्तो क्षतिपूर्ति दिने बताए। उनीहरू उत्तराखण्डको हिन्दू तीर्थस्थलमा धार्मिक यात्रामा आएका थिए।

उनले उत्तराखण्डमा नौ सय २४ व्यक्ति हराइरहेको देखिएको र उनीहरूको मृत्यु भएको ठानी उनीहरूको परिवारलाई राज्यको कोषबाट क्षतिपूर्ति दिइने बताए।

सरकारले प्रत्येक मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराउनेछ।

- रासस/एएफपी