माओवादीद्वारा वैद्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन

काठमाडौ, २४ असार।नेकपा-माओवादीले सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रसँग वार्ता गर्न भन्दै अध्यक्ष मोहन वैद्यको नेतृत्वमा पाँच सदस्सीय वार्ता टोली गठन गरेको छ।

नेकपा माओवादीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वार्ता टोली घोषणा गरेको हो।

वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द सदस्य रहेका छन्। माओवादीले सरकार गठनका क्रममा भएको ११ बुँदे सहमति खारेजी र वर्तमान सरकारको विस्थापन नभएसम्म मङ्सिरको निर्वाचन हुन नदिने चेतावनी दिएको छ। मुलुकमा विद्यमान सङ्कटको समाधान र अग्रगामी निकासका लागि नयाँ राष्ट्रिय राजनीतिक सहमति गर्न वार्ता टोली गठन गरिएको माओवादीले जनाएको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले आफूहरु निर्ःशर्तरुपमा सरकार, उच्चस्तरीय राजनीतिक समिति र दलहरूसँग वार्ता गर्न तयार भए पनि मङ्सिर चारको निर्वाचन मिति खारेज गर्नुपर्ने अडानबाटपछि हट्न नसक्ने बताए। चार दलले अन्यदललाई निर्वाचनमा जान पाउने अधिकारबाट वञ्चित गरेर निर्वाचन गर्न नसक्ने उनको भनाइ थियो।

सञ्चारकर्मीहरुको जिज्ञाशामा एमाओवादीसँग एकता हुने भन्ने कुरा एनेकपा माओवादीबाट बढी प्रचार गरिएको बताउँदै अध्यक्ष वैद्यले एकताको कुरा निर्वाचनमा एमाले र काँग्रेसलाई तसाउन ल्याइएको भ्रम भएको टिप्पणी गरे।

सोक्रममा महासचिव रामबहादुर थापाले देशभक्त आन्दोलनकारी क्रान्तिकारी शक्तिलाई युद्धतर्फ धकेल्न र आत्मसमपण गराएर सखाप पार्ने षडयन्त्र भइरहेको आरोप लगाए।

माओवादीले नागरिकता अध्यादेश खारेज गर्नुपर्ने, नेपाल प्रहरीको प्रतिष्ठान निर्माण भारतले गर्ने भनिएको सहमति राष्ट्रहीत विपरीत भएको, अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभाग, लुम्बिनी र पशुपतिनगरको नेपाल-भारत सीमामा थप अध्यागमन चेकपोस्ट राख्ने गरी भारतसँग भएका सहमतिहरु खारेज गर्नुपर्ने मागसमेत गरेको छ ।

वर्तमान सरकार यथावत राख्दै मङ्सिर चारको निर्वाचनमा माओवादी सहमति भए गोलमेच सम्मेलन, ११ बुँदे सहमति र २५ बुँदे आदेश परिमार्जन गर्न सकिने भन्दै चारदलीय संयन्त्रले वार्ताका लागि आह्वान गरेपछि माओवादी वार्ताको लागि तयार भएको हो।

माओवादीको आइताबार राजधानीमा बसेको पोलिटव्युरो बैठकले वार्ता टोली गठन गरेको माओवादीले जनाएको छ।

- अादर्श समाज सम्वाददाता