परोपकारको महायज्ञ मूलआयोजक समितिको अध्यक्षमा श्रेष्ठ

पोखरा, २४ असार। राष्ट्रिय परोपकार महासंघ नेपालले यही मंसिर २२ गतेदेखि आयोजना गर्न लागेको श्रीमद्भागवत धनधान्याचल विराट ज्ञानमहायज्ञ मूलआयोजक समितिको अध्यक्षमा समाजसेवी भक्तराज श्रेष्ठलाई चयन गरिएको छ।

महासंघले सोमबार परोपकार महासंघ नेपालको केन्द्रीय कार्यालय पोखरा १५ ढु·साँघुमा मूलआयोजक समिति गठन गर्ने उद्देश्यले आयोजना गरिएको बृहत भेलाले महासंघको संस्थापक कोषाध्यक्ष तथा हालका सल्लाहकारका रूपमा रहेका श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो।

समितिको महासचिवमा परोपकार महासंघका महासचिव मोहनबहादुर भण्डारी र कोषाध्यक्षमा महासंघकै कोषाध्यक्ष विष्णुप्रसाद पौडेललाई चयन गरिएको छ। भेलाले परोपकार महासंघका अध्यक्ष तथा परिकल्पनाकार पण्डित कमलनयन गौतमले हालसम्म एक सय सात वटा विभिन्न स्थानहरूमा आयोजना गरिएका महायज्ञका सम्पूण्ा अध्यक्षहरूलाई महायज्ञ मूलआयोजक समितिको सहअध्यक्षमा चयन गर्ने, महासंघ केन्द्रीय कमिटिका पदाधिकारीहरूलाई उपाध्यक्षमा चयन गर्ने तथा हालसम्म सम्पन्न महायज्ञ मूलआयोजक समितिका महासचिवहरू सचिव पदमा र कोषाध्यक्षहरू सहकोषाध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको छ। सल्लाहकार र अन्य सदस्य तथा उप समितिहरू भने मूलआयोजक कमिटिले पछि चयन गर्ने भएको छ।

भेलाको उद्घाटन गर्दै विन्ध्यवासिनी वैदिक विद्याश्रमका पिठाधीश एवम् गुरूकुलका संस्थापक स्वामी निशेषानन्दले आफ्नो शिष्यले आफ्नो बाटो पछ्याउँदै परोपकारी सेवामा तल्लीन भएकोमा खुसी व्यक्त गरे। उनले पञ्च महाभुत वायु, पृथ्वी, जल, तेज र आकाश तत्व मिलेर हाम्रो शरीर बनेको भन्दै सबैले परोपकारी कार्य गर्नुपर्ने आवश्यकता औलाए। उनले परोपकार गरिएन भने त्यो नै ठूलो पाप हुने भन्दै महायज्ञ पनि परोपकारका लागि आयोजना गरिएका कारण सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला, जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषाल, पोखरा उपमहानगरपालिकाका कार्यक्रम अधिकृत ओमराज पौडेललगायतले परोपकार महासंघ स्थापनाकालदेखि नै परोपकारी कार्यमा जुटेको र छोटो समयमा नै धेरै कार्य गरेकोमा प्रशंसा गरे। उनीहरूले राज्यले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै महायज्ञमा सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरेका थिए। कार्यक्रममा मूलआयोजक समितिका संयोजक भक्तराज श्रेष्ठ, विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्मा, विश्व हिन्दु महासंघ दलित उत्थान समितिका केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्मा, परोपकारका जिल्ला अध्यक्ष ललितबहादुर कुँवर, बाग्लुङ्का जब्बरबहादुर लामिछाने, पर्वतका क्या. टेकवहादुर जिसी, चितवनका वद्रीनाथ वाग्ले, तनहुँका गणेशप्रसाद शर्मा, स्याङ्जाका मुक्तिप्रसाद रेग्मीलगायतले महायज्ञलाई सफल बनाउन लागीपर्ने प्रतिवद्धता जाहेर गरेका थिए।

भेलामा टोल विकास संस्था समन्नवय समिति वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, महासंघको वडा इकाइ समिति वडा नं १८ का अध्यक्ष रोमबहादुर कार्की, काहुँ गाविसका इश्वरीप्रसाद आचार्य, नगर स्तरीय नारी समूहका अध्यक्ष इन्द्रा कार्की, नारी समूह वडा एकाइ समिति वडा नं ९ का भगवती पन्तलगायतले बोलेका थिए।  संस्थाका अध्यक्ष कमलनयन गौतमले संस्थाका गतिविधिबारे जानकारी गराउँदै अक्षयकोष स्थापना गर्नुको उद्देश्यबारे प्रष्ट पारेका थिए। संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष ललितबहादुर कँुवरले स्वागत तथा सञ्चालन सचिव मोहनबहादुर भण्डारीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता