भीषण सेतीबाढीको एक वर्ष, बेपत्ताका परिवारले राहत पाएनन्

पोखरा, २२ वैशाख।सेतीनदीमा अकल्पनीय भीषण बाढी आएको एक वर्ष पूरा भएको छ। ठूलो जनधनको क्षति हुने गरी गतवर्ष आजकै मितिमा सेतीनदीमा आएको भीषण बाढीका कारण ३० जनाको ज्यान गएको थियो। बाढीमा परी ३१ जना बेपत्ता भए।

उक्त कहालीलाग्दो घटनाको एक वर्ष पूरा हुँदासमेत बाढीमा बेपत्ता भएकाका परिवारका सदस्यले अझसम्म कुनै पनि राहत पाएका छैनन्।

उक्त घटनामा छोरा श्रीरामलाई बाढीमा गुमाउन पुगेका कास्कीका कमलप्रसाद जैसीसँग छोरा गुमाएको चोट छ छँदैछ। तर पनि अझसम्म उनको दुखमा मल्हमपट्टी लगाउन कुनै पनि निकायबाट राहत पाउन नसक्दा उनी अझ दुखी छन्। उनले अब बेपत्ता छोरालाई मृत घोषणाको माग गरेका छन्। पीडित कमलप्रसादको जस्तै अन्यको पनि उस्तै छ।

घटनाको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले घटनास्थलको निरीक्षण गरी राहत रकम उपलब्ध गराउने घोषणा गरेका थिए। जसमा शव भेटिएकाका परिवारका आफन्तलाई जनही एक लाख रुपैयाँ र किरिया खर्चबापत् २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए।

माछापुच्छ्रे गाविस सचिव तोयानाथ आचार्यले बेपत्तालाई मृतक घोषणा गरी तिनका परिवारलाई सरकारले उचित राहत दिनुपर्ने बताउँछन्।

यसबारे जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले बेपत्ता परिवारलाई राहत दिनको लागि प्रयास भइरहेको जनाए। उनले सेतीनदीको छेउछाउमा रहेका मानिसहरूलाई तयारीमा बस्न सूचित गर्ने पनि बताए।

सार्दीखोला-पोखरा सर्म्पर्क समितिका अध्यक्ष बमबहादुर गुरुङले बेपत्ता ३१ जनामध्ये १७ जनाको नाम गाविसको सिफारिससहित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको बताए।

जिल्लास्तरबाट केन्द्रसम्म वेपत्ता परिवारलाई राहत दिलाउन तथा भौतिक संरचना मर्मत गराउन आफूहरूले पहल गर्दासमेत सरकारले शव भेटिएका परिवारलाई एक लाख २५ हजारबाहेक खासै राहत प्रदान गर्न नसकेको उनको गुनासो छ।

रेडियो अन्नपूर्णले आफ्नो वाषिर्कोत्सवको अवसर पारेर सेतीबाढीपीडितको लागि स्थापना गरेको अन्नपूर्ण राहत कोषमार्फत् सञ्चालित पुनर्वास कार्यक्रमअन्तर्गत माछापुच्छ्रे गाविसको सानो खोवाङमा हालै नौ घर निर्माण गरी हस्तान्तरणसमेत गरिएको छ। विभिन्न सङ्घसंस्था तथा व्यक्ति विशेषमार्फत् सड्ढलित राहत कोषको बचत रकम पार्क निर्माण, पिकनिक स्पट, बाढीपीडितको विवरण समावेश गरिएको स्तम्भ निर्माण गर्नुका साथै तातोपानी कुण्ड पुनर्निर्माण गरिने रेडियोका प्रमुख कार्यकारी दीपेन्द्र श्रेष्ठले बताए।

यसैबीच, घटनाको वाषिर्क तिथिमा सोमबार रेडियो अन्नपूर्णले सार्दीखोलामा स्मृति सभा कार्यक्रम गर्ने जनाएको छ।

- अादर्श समाज सम्वाददाता