सुशासन तथा भ्रष्टाचार न्यूनीकरणका लागि हास्यव्यङ्ग्य

पोखरा, २२ वैशाख।सुशासन र भ्रष्टाचार न्यूनीकरणका साथै जवाफदेहीताका लागि हास्यव्यङ्य कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ।

सिस्नुपानी नेपाल र राष्ट्रिय सतर्कता केन्द्रको संयुक्त पहल तथा मानव विकास मञ्च नेपालको संयोजनामा आयोजना गरिएको सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा कार्यक्रममा नेतादेखि कर्मचारी सबैलाई व्यङ्ग्य पहार गरिएको थियो।

व्यङ्ग्य प्रहार गरेर सोचमा परिवर्तन ल्याउन सकिने र भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने विश्वासका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सरकारी कार्यलयका प्रमुखहरू, गैरसरकारी कार्यालयका प्रमुखहरू, न्यायलय, प्रशासन, राजनीतिक क्षेत्र, सञ्चारक्षेत्रलगायतका बुद्धिजीवी वर्गको सहभागिता रहेको थियो।

हास्यव्यङ्ग्यकार मनोज गजुरेललगायत अर्जुन पराजुली, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमषी, टंक आचार्यलगायतले जिल्ला विकास समितिको सभाहलमा दुर्इघण्टासम्म व्यङ्यात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यस्तै व्यङ्ग्यकार विश्व शाक्य र पत्रकार माधव शर्मालगायतले पोखराका प्रतिनिधित्व गर्दै व्यङ्ग्य प्रहार गरेका थिए।

राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव कृष्णप्रसाद पौडेलले कार्यक्रममा स्वागत गर्दै सम्पूर्ण कर्मचारीलाई जवाफदेही बनाउन तथा भ्रष्टाचार न्यूनीकरणका लागि सचेतना जगाउन तथा दबावमूलक सङ्घसंस्थाले दबाव दिउन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए।

सम्पूर्ण सहभागी प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला, कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेल, मानव विकास मञ्च नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक सुष्मा पौडेललगायतले बोलेका थिए।

कार्यक्रमको सञ्चालन सिस्नुपानी नेपालका महासचिव टंक आचार्यले गरेका थिए।

- अादर्श समाज सम्वाददाता