रेग्मी सरकार कठपुतली र नपुंसक : थापा

पोखरा, २६ चैत।राष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका अध्यक्ष कमल थापाले खिलराज रेग्मी नेतत्वको सरकार कठपुतली र नपुंसक भएको आरोप लगाएका छन्।

अध्यक्ष थापाले सोमबार पोखराबाट नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राज्य कायम राख्न हस्ताक्षर संकलन अभियानको उद्घाटनपछि यस्तो विचार व्यक्त गरेका हुन्। अभियान एक महिनासम्म नेपालका हरेका गाउँ र घरमा पुर्‍याउने राप्रपाले जनाएको छ।

आफ्नो पार्टीले संविधानसभाको विघटनपछि पहिलो पटक प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारको माग गरेको उनले स्मरण गरे। उनले भने-’त्यो प्रस्ताव गरेकोमा अहिले मलाई पश्चाताप लागिरहेको छ।’

चारदलीय सिण्डिकेटले रेग्मी सरकार नालायक र बेकम्पा हुँदै गएको उनले टिप्पणी गरे। उनले भने-’रेग्मी सरकार चार दलको कठपुतली र नपुंसक बनेको छ।’

असारमा चुनाव गर्ने म्यान्डेट पाए पनि हालसम्म चुनावको मिति घोषणा नभएकोले चुनाव हुन नसक्ने उनको दाबी थियो। प्रमुख दलहरू कमजोर भएकोले चुनावमा जान डराएको उनले आरोप लगाए। देशमा विदेशीको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनता नै संकटमा परेको उल्लेख गर्दै उनले थपे-देशलाई जोगाउने अन्तिम अवसर र उपाय नै चुनाव हो। निर्वाचन आयोगले आफ्नो ल्यापटप जोगाउन नसक्ने अवस्थामा चुनाव गराउने दाबी गर्नु हाँस्यास्पद भएको उनले बताए। नेकपा-माओवादी नेतृत्वमा दलहरू आन्दोलनमा रहेकोतर्फ संकेत गर्दै अध्यक्ष थापाले आन्दोलनका बीचमा चुनाव हुन नसक्ने विचार व्यक्त गरे। उनले भने-’दलहरूको आन्दोलनको सामाना गैरदलीय कर्मचारीको सरकारले गर्न सक्दैन।

दोस्रो जनआन्दोलनपछि देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर दलहरूले राष्ट्रिय पहिचानलाई संकटमा पारेको उनले बताए। हिन्दु धर्मलाई विशेष संरक्षण गर्न आफूहरूले माग नगरेको दाबी गर्दै उनले पहिचान समाप्त पार्ने काम भए चुप नलाग्ने चेतावनी पनि दिए। कार्यक्रमका प्रमुख अतिथि उनले हस्ताक्षर संकलन अभियानमा हस्ताक्षर गरी एक महिना लामो सो अभियानको शुभारम्भ पनि गरे।

कार्यक्रममा पचास बढीले राप्रपा नेपालमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई अध्यक्ष थापाले अविर र खादा लगाएर पार्टीला स्वागत गरे।

सो अवसरमा राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरूङले देशमा अब निर्वाचन हुन सक्ने सम्भावना कम हुँदै गएको बताए। उनले कार्यक्रममा राप्रपा नेपालले विजय प्राप्त गरे, छ महिनामा सबै नेपालीको हातमा नयाँ संविधान पुर्‍याइदिने दाबी पनि गरे।

कार्यक्रममा पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि दुर्इ करोड ४० लाख बरावरको जग्गा प्रदान गर्ने केन्द्रीय सदस्य दीलिपविकास राजभण्डारीलाई सम्मान गरिएको थियो। सो अवसरका पार्टीला सल्लाहकार संयोजक लक्ष्मणबहादुर कार्कीले पनि बोलेका थिए। राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आमन्त्रित केन्द्रीय सदस्य विष्णुदेवी गुरूङ र सञ्चालन सह-अध्यक्ष वरूणविक्रम राणाले गरेका थिए।

- अादर्श समाज सम्वाददाता