बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन

लन्डन, २६ चैत। बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको सोमबार निधन भएको छ। केही समयदेखि विरामी रहेकी उनको सोमबार ८७ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ।

बेलायतकी पहिलो महिला प्रधानमन्त्री थ्याचरको निधनको समाचार उनका छोरा क्यारोललाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन्। सोमबार उनको निधन भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन्। आफ्नै निवासमा उनको सोमबार हृदयघातका कारण निधन भएको बताइएको छ।

उनलाई चिकित्सकहरुले करिब दश वर्षअघिदेखि नै नबोल्न सुझाएका थिए। कयौँ पटकसम्म उनलाई हृदयघातको धक्का महसूस भएपछि चिकित्सकहरुले उनलाई नबोल्न सुझाझ दिएका थिए।

उनी स्मरणशक्ति गुम्ने रोगबाट पीडित भएकोले निकै लामो समयदेखि नै सार्वजनिक समारोहमा सहभागि भएकी थिइनन्। उनका पति डेभिसको सन् २००३ मा नै निधन भएको थियो।

उनले सन् १९७९ देखि सन् १९९० सम्म बेलायतको प्रधानमन्त्रीका रुपमा नेतृत्व प्रदान गरेकी थिइन्। उनी बेलायतमा सबैभन्दा बढी कार्यकाल प्रधानमन्त्री बन्ने राजनीतिज्ञका रुपमा पनि परिचित छन्।

बेलायतको प्रमुख दलको नेतृत्व लिने एक पहिलो महिलाका रुपमा पनि उनलाई चिनिन्छ। उनको निर्णय गर्नसक्ने क्षमताका साथै सरकार तथा दल सञ्चालनमा निकै दह्रो रुपमा प्रस्तुत हुने गरेकोले सञ्चारमाध्यमहरुले उहाँलाई लौह महिला (आइरन लेडी) को सङ्ज्ञा पनि दिएका थिए। सन् १९५९ मा पहिलो पटक बेलायतको सांसदमा चुनिएकी उनलाई तत्कालीन प्रधानमन्त्रीले विज्ञान मन्त्रीमा नियुक्त गरेका थिए। सन् १९५९ देखि नै उनको मन्त्रीको यात्रा सुरु भएको थियो।

- रासस