हनुमान ढोका दरबारमा रहेको ढुकुटी खोलियो

काठमाडौं, २२ चैत।काठमाडौको हनुमान ढोका दरबारमा रहेको भण्डारखाल ढुकुटीमा ठूलो मात्रामा सुनचाँदीका गहना फेला परेको छ। पुरातात्विक महत्त्वको ढुकुटी दशकौपछि बिहीबार खोल्दा ठूलो मात्रामा सुनचाँदीसहितका गहना फेला परेका हुन। पहिलो दिनको उत्खननका क्रममा १५ वटा ठूला बाकस र सातवटा सानो बाकसमा गहना फेला परेको छ। बिहीबार भेटिएका बाकसलाई सिलबन्दी गरेर कडा सुरक्षाका साथ राखिएको छ।

सयौं वर्ष पुरानो उक्त ढुकुटी मक्किएर ढल्न लागेपछि पुरातत्व विभागले खोल्ने निर्णय गरेको थियो।  पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल नेतृत्वको टोलीलले ढुकुटी खोलेको हो। ढुकुटीमा अनुमान गरेभन्दा धेरै सुन चाँदी र अमूल्य गरगहना फेला परेका दाहालले बताए।

पृथ्वीनारायण शाहको पालादेखीका गरगहना रहेको अनुमान गरिएको छ। कहिल्यै नखोलेको भनिएको ढुकुटी २०१५ सालमा खोलेर ७५ लाख भारतीय रुपैयाँ सटही गरिएको थियो।  कामै नलाग्ने गरी बिगे्रका नोटलाई धुल्याउन अप्ठेरो भएपछि तत्कालीन राजा महेन्द्रले भारतीय सरकारसँग कुराकानी गरी उनकै निर्देशनमा ७५ लाख रुपैयाँ सटही गरिएको थियो। युनेस्कोको सम्पदा सूचीमा रहेका ती गरगहना सरकारले बेच्न भने पाउने छैन।

- अादर्श समाज सम्वाददाता