राजेश हमाल र अमेरिकी डाक्टरलाई उछिन्दै चेपाङ बने प्रमुख अतिथि

बेसीसहर, २२ चैत।लमजुङ चितिका दीघजीवी एकसय एक वर्षीय बुद्धिबहादुर चेपाङ बुधबार निकै खुसी देखिए। आफ्नो परिवारका मान्छेबाहेक अन्यसँग कहिल्यै स·त नगरेका चेपाङ एक भव्य कार्यक्रमको प्रमुख अतिथि बन्न पाउँदा उनमा खुसी छाएको हो।

कहिले खुला आकास, त कहिले आफ्नै झुप्रोको पिँढीमा सुतेर जीवन विताउँदै आएका चेपाङले लमजुङको सुन्दरबजारमा निर्मित दुर्इ तलाको ३२ कोठे भवनको उद्घाटन गरे। र, अङ्ग्रेजीमा लेखिएका सम्मान तथा प्रशंसापत्रमा ल्याप्चे लगाएर वितरणसमेत गरे।कालो टोपी, सेतो भोटोमाथि स्टकोट र कछाड लगाएर खालि खुट्टै कार्यक्रममा आएका चेपाङलाई देखेर सबैजना दंग परे। सुकुम्बासी चेपाङ प्रमुख अतिथि भएको सो कार्यक्रममा दुर्इ फरक धारका चर्चित व्यक्तिको पनि उपस्थिति थियो। अमेरिकाका दन्त विशेषज्ञ डा.रोय आलम हेमपक र नेपाली सिनेजगतका महानायक राजेश हमाल।

‘हाई प्रोफाइल’ का डा. रोय र महानायक हमालसँगै चेपाङले अस्पतालको उद्घाटन गर्नु संयोग मात्र नभएर नौलो विषय भएको भन्दै सर्वसाधरणले कार्यक्रमको प्रशंसासमेत गरे। आफ्नो घरगाउँबाट बाहिर ननिस्कने चेपाङ कार्यक्रमको प्रमुख अतिथि बनाइएपछि चिति चेपाङटारका चेपाङहरू खुसी बनेका छन्।

‘जिन्दगीमा यति ठूलो कार्यक्रमको प्रमुख अतिथि बनेर हिरो र विदेशीसँग हाम्रा बाजे बस्न पाउलान भनेर सोचेकै थिएनौं’-चेपाङ सङ्घ लमजुङकी अध्यक्ष अमृता चेपाङले भनिन्-’यो हाम्रो जातीका मान्छेका लागि सबैभन्दा ठूलो खुसीको कुरा हो।’

अस्पताल विकास समितिका अध्यक्ष सीताराम कोइरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम, एकीकृत नेकपा माओवादी जिल्ला संयोजक देवेन्द्र पराजुली, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य प्रेमराज चिलुवाल, नेकपा एमाले सचिवालय सदस्य लीलाधर सापकोटा, नेकपा-माओवादी तमुवान सदस्य जनक महतरा, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख शम्भुप्रसाद ज्ञवाली, चन्दादाताको तर्फबाट अम्विकाप्रसाद पण्डित, पत्रकार महासङ्घ, लमजुङका अध्यक्ष कृष्ण केसीलगायतले बोलेका थिए।

दुर्इ वर्षअघि निर्माण सुरु अस्पतालको हाल पहिलो तल्लाको काम अन्तिम चरणमा पुगेको छ भने दोस्रो तला ढलान भएको छ।

भवन निर्माणको काम नसकिए पनि दाताको आग्रहमा हतारमा उद्घाटन गरिएको थियो।

चैतसम्म निर्माण कार्य नसके करिब ५० लाख बराबरको दन्त सामग्री गुम्ने दाताको चेतावनीपछि भवन निर्माणले तीव्रता पाएको थियो।

लमजुङ र तनहुँका करिब १९ गाउँ विकास समितिका बासिन्दालाई सेवा दिँदै आएको नमूना सामुदायिक अस्पतालमा पश्चिमाञ्चलकै नमुना दन्त क्लिनिक स्थापना गरिएको छ।

- अादर्श समाज सम्वाददाता