अत्यावश्यक दुर्इ एजेण्डाका लागि प्रधानन्यायाधीशको नेतृत्व : कोइराला

स्याङ्जा, १२ चैत। नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले डा.बाबुराम भट्टराई नेतृत्व सरकारको बहिर्गमन र निर्वाचनका लागि प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष स्वीकार गरेको बताएका छन्।

नेपाल महिला सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबारदेखि सञ्चालित पश्चिमाञ्चलस्तरीय कार्यशाला गोष्ठीको सोमबार स्याङ्जा सदरमुकाममा उदघाटन गर्दै सभापति कोइरालाले लोकतन्त्रमा नै सबैको भविष्य सुनिश्चित हुने बताउँदै लोकतन्त्रको मियो निर्वाचन रहेको औल्याए।

लोकतन्त्रका मूल्य, मान्यता र आदर्शमाथि कसैसँग सम्झौता नगर्ने नेपाली काङ्ग्रेसको निर्णय रहेको बताउँदै सभापति कोइरालाले नेपाली काङ्ग्रेस अझै जिम्मेवार बन्नुपर्नेमा जोड दिए। व्यवहारका नाउमा सिद्धान्त र सिद्धान्तका नाउमा व्यवहार नमिच्न आग्रह गर्दै व्यवहार र सिद्धान्तलाई सँगसँगै अघि बढाउन सबैलाई आग्रह गरे।

वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस कमजोर भएमा फेरि पनि संविधान बन्न नसक्ने बताउँदै काङ्ग्रेसलाई मजवुद बनाउन आजैदेखि लाग्नुपर्नेमा जोड दिए।

उपसभापति रामचन्द्र पौडेलले जनप्रतिनिधिको अभावमा कार्यपालिकाको जिम्मेवारी दिइएको प्रधानन्यायाधीशले न्यायपालिकाबाट छुठ्ठै रहने व्यवस्था मिलाएको दावी गरे। यसैगरी, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, मीना पाण्डे, एनपी साउद, चन्द्र भण्डारी, मानवबहादुर विक, कमला पन्त, धनराज गुरुङ, शंकर भण्डारी, सुरेन्द्र पाण्डे, राजन्ा पन्त, जीवनप्रकाश परियार जनजाति महासङ्घका संयोजक इन्द्रबहादुर गुरुङ, महिला सङ्घका सभापति डीला संग्रौला, स्याङ्जा सभापति कमलप्रसाद पंगेनी, राष्ट्रिय सहकारी विकासका ओमकला जोशी, लुम्बिनी अञ्चल संयोजक नर्मदा गौतम, पूर्व केन्द्रीय सदस्य भूमा पाण्डे, निवर्तमान सभापति खगेन्द्रराज रेग्मी, महासमिति सदस्य सरस्वती तिवारी, सहसचिव निर्मला लम्साल, महिला सङ्घका निवर्तमान सभापति मखमली श्रेष्ठ, महिला सङ्घका उपसभापति देवी अर्याललगायतले नेपाली काङ्ग्रेसले बीपीका सिद्धान्तलाई अङ्गीकार गर्दै अघि बढेकोमा जोड दिए।

गोष्ठीमा १६ जिल्लाका करिब ८० जना महिला सङ्घका पदाधिकारीको सहभागिता रहेको छ। कार्यशाला सोमबार र मङ्गलबार सञ्चालन गरिने स्याङ्जा महिला सङ्घका सभापति कल्पना तिवारीले जानकारी दिइन्।

महिला सङ्घका केन्द्रीय सदस्य हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यशाला महिला सङ्घ स्याङ्जाका सभापति कल्पना तिवारीले सञ्चालन गरेकी  थिइन्।

- अादर्श समाज सम्वाददाता