राष्ट्रिय युवा जनस्वयंसेवकको ‘प्रतिरोध अभियान’ सुरु

पोखरा, १० चैत। नेकपा-माओवादीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले देशव्यापी अभियानका रुपमा ‘राष्ट्रिय तथा प्रतिरोध अभियान’ सुरु गरेको छ।

‘राष्ट्रघात, जनघात र सामाजिक विकृतिको बिरुद्व सशक्त संर्घर्ष गरौं, राष्ट्रिय जागरण तथा प्रतिरोध अभियान भव्य रुपले सफल पारौं’ भन्ने नाराका साथ युवा जनस्वयंसेवकको राष्ट्रिय अभियानअन्तर्गत बिहीबारदेखि पश्चिम र मध्यपश्चिम कमाण्डमा अभियान सुरु गरिएको हो।

दाङको तुलसीपुरबाट बिहीबार दुबै कमाण्डको विधिवतरुपमा अभियानको उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थारुवान राज्य समितिका इञ्चार्ज पूर्णबहादुर र्घर्तीमगर, विशेष अतिथिमा राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रीय अध्यक्ष उदयबहादुर चलाउने, सेती-महाकाली राज्यका इञ्चार्ज ओम पुन, तमुवान राज्यका सेक्रेटरी यशोदा सुवेदी प्रभा, भेरी कर्णाली राज्यका सेक्रेटरी भरत बम रणवीर, मगरात राज्यका सह-सेक्रेटरी धनेश्वर पोखरेल शिशिर, थारुवान राज्यका सह-सेक्रेरी डायमण्ड लगायतको सहभागिता थियो।

राष्ट्रिय युवा जनस्वयंसेवकले चलाएको प्रतिरोध अभियानअन्तर्गत पश्चिम र मध्यपश्चिम दुवै कमाण्डमा जनसभा गरिनुका साथै सामना सांस्कृतिक परिवारको प्रस्तुति गरिने बताइएको छ। सामना सांस्कृतिक परिवारको टोलीमध्येबाट पश्चिम कमाण्डमा सुश्मा र झंकार बुढाको नेतृत्व र मध्यपश्चिम कमाण्डमा किशोर विकको नेतृत्व रहेको राष्ट्रिय युवा जनस्वयंसेवक दलका केन्द्रीय उपाध्यक्ष सावित्रा दुरा आस्थाले बताएकी छिन्।

अभियानअन्तर्गत शुक्रबार पश्चिम कमाण्ड अन्तरगत दाङ जिल्लाको फूलबारीमा र मध्यपश्चिम कमाण्डअन्तर्गत सल्यान जिल्लाको कपुरकोटमा साँस्कृतिक प्रतिरोध अभियान चलाइएको आस्थाले बताइन्।

मध्यपश्चिम कमाण्डअन्तर्गत अहिले अभियान मगरात राज्यमा चलेको छ। यो अभियान यस कमाण्डअन्तर्गत मगरात राज्यमा बैशाखको ६ गतेसम्म, बैशाखको ७ देखि २३ गतेसम्म तमुवान राज्यमा र बैशाखको २४ देखि जेठको १ गतेसम्म अवध राज्यमा चल्नेछ। जेठ १ गतेलाई अभियानले विद्यार्थी दिवसको रुपमा लिएको छ। विद्यार्थी दिवसको अवसर पारेर मध्यपश्चिम कमाण्डमा जेठको १ गते बुटवलमा सांस्कृतिक कार्यक्रमका साथमा जनसभा गर्दै अभियान सकिने राष्ट्रिय युवा जनस्वयंसेवक दलका केन्द्रीय उपाध्यक्ष आस्थाले जानकारी गराइन्।

- अादर्श समाज सम्वाददाता