एमाओवादीद्वारा निर्वाचन तयारी सुरु घोषणापत्र र उम्मेदवार छनौट समिति गठन

काठमाडौं, ७ चैत। एकीकृत नेकपा माओवादीले आगमी असारमा हुने भनिएको संविधानसभाको निर्वाचनको तयारी सुरु गरेको छ।

निर्वाचनको तयारीस्वरूप एकीकृत माओवादीले पार्टीको घोषणापत्र तयार गर्न र उम्मेदवार छनौटका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। पार्टीकेन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले चुनावी घोषणापत्र तयार गर्न उपाध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा र उम्मेदवार छनौटका लागि महासचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा समिति गठन गरिएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

नौ सदस्यीय घोषणापत्र मस्यौदा समितिमा कृष्णबहादुर महरा, गोपाल किराती, विश्वभक्त दुलाल, शशी श्रेष्ठ, विश्वनाथ साह, लेखराज भट्ट, धर्मदत्त देवकोटा र डा. डिल्लीराज खनाल सदस्य रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।

यसैगरी महासचिव बोगटीको संयोजकत्वमा गठित उम्मेदवार निर्धारण समितिमा वर्षमान पुन, गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, लीलामणि पोख्रेल, शक्ति बस्नेत, हिसिला यमी र प्रभु साह रहेका छन्। दुर्इवटै समितिले केही दिनभित्रै आ-आफ्नो जिम्मामा परेका काम पूरा गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्ने र पार्टीपूर्णरूपमा निर्वाचनमा परिचालित हुने प्रवक्ता सापकोटाले जानकारी दिए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनका लागि अनुकूल वातावरण बनेको भन्दै निर्वाचन तयारीमा लाग्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए।

असारमै निर्वाचनको सम्भावना रहेको उल्लेख गर्दै दाहालले निर्वाचन तयारीमा जुट्न निर्देशन दिएको एक सदस्यले बताए। बैठकमा अध्यक्ष दाहालले दलहरूबीच भएको सहमतिबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका थिए।

एमाओवादीको बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनसँग मिलेर संयुक्त घोषणापत्र बनाई संविधानसभाको निर्वाचनमा सहभागी हुने विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रवक्ता सापकोटाले एमाओवादीले आफ्नो तर्फबाट छुट्टै घोषणापत्र पनि तयार पार्ने र गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम समेटिएको घोषणापत्र तयार गर्ने विषयमा कुराकानी भएको जानकारी दिए।

उनले गठबन्धनको बैठकमा समेत यो विषयमा छलफल भएको र थप छलफलपछि संयुक्त घोषणापत्र समेत निर्माण गरिने बताए। उनले परिवर्तनकामी शक्तिहरू एकजुट भए मात्रै आगामी निर्वाचनमा परिवर्तनकारी पक्षहरूको बहुमत आउने दाबी गरे।

यसैबीच बधुबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा राष्ट्रिय राजनीतिक सहमतिको आधारमा राजनीतिक गत्यावरोधको अन्त्यका लागि प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन हुनुलाई सकारात्मक रूपमा लिइनुपर्ने उल्लेख छ।

मुलुक राजनीतिक चक्रव्यूहमा फसिरहेका बेला संविधानसभाको निर्वाचन प्रयोजनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुनु सकारात्मक भएको टिप्पणी गर्दै अझै पनि मुलुकको राजनीतिक केन्द्रविन्दुमा एमाओवादी नै रहेको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।

यस्तै बैठकमा गत माघमा सम्पन्न महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताले उठाएको सवाललाई समावेश गरी राजनीतिक प्रतिवेदनलाई पुष्ट बनाउनेलगायत केन्द्रीय समितिमा थप गर्ने केन्द्रीय सदस्यहरू, पार्टीको आन्तरिक सङ्गठन, विभिन्न आयोगहरूको प्रतिवेदन कार्यान्वयन र देशका विभिन्न स्थानमा उठाइएका जनयुद्वकालीन मुद्दाको खारेजीबारे समेत प्रस्ताव पेश गरिएको र ती प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु गरिने प्रवक्ता सापकोटाले बताए। बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने छ।

- अादर्श समाज सम्वाददाता