पार्टीअध्यक्षको निर्देशनविपरीत अनेरास्ववियुको वैठक सुरु

पोखरा, ७ चैत। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको निर्देशनविपरीत अनेरास्ववियुको २१ औं राष्ट्रिय सम्मेलन मूल आयोजक समितिको बैठक बुधबारदेखि कास्कीको लुम्लेमा सुरु भएको छ।

केही विद्यार्थी नेताहरूले सम्मेलन मूल आयोजक कमिटीको गठनलाई खारेजीको माग गर्दै पार्टीमुख्य कार्यालय अगाडि अनसन वसेका थिए।

पार्टीका अध्यक्ष खनालले मुल आयोजक कमिटीको सम्पूर्ण गतिविधि रोक्नका लागि लिखित निर्देशन दिएपछि उक्त अनसन तोडिएको थियो। तर पार्टीका अध्यक्ष खनालको निर्देशनविपरीत मूल आयोजक कमिटीको बैठक भने बुधबारदेखि पोखरामा सुरु भएको हो।

नाम नबताउने सर्तमा अनेरास्ववियुका नेताले पार्टीका अध्यक्ष  खनालको व्यक्तिगत निर्देशन भएको दाबी गर्दै आफूहरूको बैठक नरोक्ने अडान लिएका थिए।

उनीहरूले पार्टीअध्यक्ष एक्लैले कसैसँग छलफल नगरी दिएको पत्र संस्थागत हुन नसक्ने जिकिर समेत गरे। बैठककै सहभागी अर्का नेताले भने वैठकको सम्पूर्ण तैयारी पूरा भएको र बैठकमा साथीहरू आउने क्रम जारी रहेका कारण अध्यक्षको निर्देशन मान्न नसकिएको बताए।

बैठकको उद्घाटन नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य खगराज अधिकारीले गरेका थिए। कार्यक्रममा मूल आयोजक कमिटीका संयोजक माधव ढुङ्गेल, निर्वतमान महासचिव किशोरविक्रम मल्ल, विद्यार्थी इन्चार्ज भानुभक्त ढकाल र उपाध्यक्ष भीम राईलगायतले बोलेका थिए।

पार्टीस्थायी कमिटीले अनेरास्ववियु केन्द्रीय कमिटी भ· गर्दै अध्यक्ष माधव ढुङ्गेलको संयोजकत्वमा एक सय ४१ सदस्यीय आयोजक कमिटी गठन गरिएको थियो। कार्यक्रममा स्वागत नेकपा एमालेका महासचिव इश्वर पोख्रेल, सचिवहरू शंकर पोख्रेल  र युवराज ज्ञवाली, पोलिट्ब्यूरो सदस्य खगराज अधिकारी र विद्यार्थी इन्चार्ज भानुभक्त ढकालको उपस्थिति रहने भनिएको भए तापनि महासचिव इश्वर पोख्रेल र सचिव युवराज ज्ञवाली भने आउने नआउने अझै टुङ्गो हुन नसकेको आयोजकले बताए।

बैठक ९ गते पोखरामा घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न हुने छ भने पहिलो दिन देशभरका सदस्यहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

साथै दोस्रो दिन विभिन्न कार्ययोजना तय गरिनुका साथै शैक्षिक सम्मेलनको घोषणा र स्ववियु निर्वाचनका सम्बन्धमा निर्णय गर्ने र कार्यविभाजन गर्ने कार्यक्रम रहेको छ। साथै नेकपा एमालेका सचिव शंकर पोख्रेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

- अादर्श समाज सम्वाददाता