चुनावमा सेना परिचालनः उपसभापति पौडेल

हेटौंडा, ७ चैत। नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधानसभा चुनावमा सेना परिचालन हुने बताएका छन्। बुधबार हेटौंडामा आयोजित दुर्इ दिने पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पौडेलले कार्यकर्तालाई निर्धक्क भएर चुनावी अभियानमा लाग्न निर्देशनसमेत दिए।

‘अब सेना ब्यारेकभित्र थुनिएर बस्दैन’-उनले भने-’चुनावमा हिंसा-आतड्ढ हुन नदिन सेना गाउँगाउँमै परेड खेल्छ।’ उनले एमाओवादीतर्फ लक्षित गर्दै विगतमा जस्तो कसैले धम्क्याउने, तर्साउने र चुनाव बिथोल्ने कार्य गर्न नसक्ने दाबी पनि गरे।

काङ्ग्रेस अब रक्षात्मक ढङ्गले नभइ आक्रामक ढङ्गले चुनावी मैदानमा उत्रने उनले खुलासा गरे। ‘चुनावमा रक्षात्मक ढ·ले मात्र लागेर हुँदैन’-उनले भने-’हामीले क्रान्तिको सुरुवात हलो जोतेर गरेका थियौं, तर माओवादीले मान्छेको टाउको काटेका थिए। त्यसैले कसैसँग डराएर र हीनताबोध मान्नुपर्ने अवस्था छैन।’

प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन माओवादीले पासो फालेको टिप्पणी गर्दै पौडेलले माओवादीकै घाँटीमा पासो फाल्न सफल भएको जिकिर पनि गरे।

‘हामीले मान्दैनौं भनेर माओवादीले त्यस्तो प्रस्ताव गरेको थियो’-उनले भने-’हामीले स्वीकारेपछि सत्तामोहमा फसेको एमाओवादी र मधेसवादी दल सरकारबाट सडकमा पुगेको छ।’

एमाओवादीले राज्यको सम्पत्तिमा ब्रह्मलुट गरिरहेको अबस्थामा त्यसलाई मुक्त गर्न सफल भएकोमा पनि उनले जोड दिएका थिए। एमाले र एमाओवादीले चार-चार पटक सरकार चलाए पनि विघटित संविधानसभाबाट संविधान दिन नसकेकोमा उपभापति पौडेलले आक्रोश व्यक्त गरे।

गत चुनावमा कम्युनिष्ट पार्टीले बाहुल्यता पाई सरकारको नेतृत्व गरे पनि असफल भएको भन्दै उनले भने-’देश र जनताको समृद्धि प्रजातन्त्रमा मात्र हुने भएकोले लोकतान्त्रिक शक्तिले अबको चुनावमा हार्दैन।’

- अादर्श समाज सम्वाददाता