निर्वाचनमा राज्य संयन्त्रका सबै ध्यान केन्द्रित हुनेछ : अध्यक्ष रेग्मी

काठमाडौं, ४ चैत। अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन नै सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यसलाई अघि बढाउन पूरै राज्य संयन्त्रको ध्यान केन्द्रित रहेको बताएका छन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष रेग्मीले चुनावका बारेमा निर्वाचन आयोगमा अहिले रहेका कर्मचारीसँग तीव्ररूपमा छलफल भइरहेको तथा सम्पूर्ण कर्मचारी संयन्त्र समेत निर्वाचनमा केन्द्रित रहेको बताएका हुन्।

मन्त्रिपरिषद्को विस्तारसँगै आयोगका आयुक्तको छिटोभन्दा छिटो नियुक्ति गर्ने, त्यसपछि आयोगले निर्वाचनका लागि थप गृहकार्य गर्ने र छिटो निर्वाचन गर्ने प्रक्रियालाई प्रतिबद्धताका साथ लाने लक्ष्य रहेको उनले बताए।

उनले भन-’सकेसम्म छिटो निर्वाचन सम्पन्न गर्न प्रयत्न गरिनेछ।’

अध्यक्ष रेग्मीले राष्ट्रको अहिलेको विषम परिस्थिति र गतिरोध भइरहेको अवस्थामा प्रमुख राजनीतिक दलले स्वतन्त्र न्यायालयमा बसिरहेको व्यक्तिलाई निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भनेर विश्वास गरी जिम्मेवारी दिएको उल्लेख गरे। एक प्रश्नमा अध्यक्ष रेग्मीले न्याय परिषद र अदालतको काम कारबाहीमा आफ्नो कुनै संलग्नता नहुने भन्दै आफूले भिन्न जिम्मेवारी लिइसकेकोले न्यायपालिकाले नै क्रियाशीलता देखाउने बताए। सवोर्च्च अदालत र त्यहाँ रहेका न्यायाधीशले मुद्दामामिलालाई स्वतन्त्र र निष्पक्ष  हिसाबले सम्पादन गर्ने बताए।

उनले कार्यगत हिसाबले कार्यपालिका र न्यायालयको अलग-अलग स्थिति र भूमिका भएकाले न्यायालय स्वतन्त्र हुन्छ कि हुँदैन भनेर द्विविधा लिनुपर्ने आवश्यकता नरहेको बताए। कामु प्रधानन्यायाधीशलगायत अन्य नियुक्ति प्रक्रिया बाधा अड्काउ फुकाउ आदेशमार्फत फुकेको बताउँदै उनले आफू व्यक्तिका रूपमा सरकार प्रमुखको रूपमा आएको दाबी गरे।

रेग्मीले सम्पूर्ण जनसमुदाय र भिन्न विचार दृष्टिकोण राखेर आन्दोलनमा रहेका दललाई लक्ष्य गर्दै जनतामा जाने विषयलाई अन्यथा रूपमा नलिएर निर्वाचनमै केन्द्रित हुन आह्वान समेत गरे।

उनले संविधानसभामार्फत संविधान जारी गर्ने अभियानलाई पूर्णता दिएर मुलुकलाई संवैधानिक र राजनीतिक स्थायित्व दिँदै समृद्धितर्फ उन्मुख गराउने दिशामा लाग्नुपर्नेमा समेत जोड दिए। यसैबीच चुनावी मन्त्रिपरिषद्ले आइतबार निर्वाचन आयोगसँग छलफल गरेको छ। छलफलमा आगमी असारमा निर्वाचन गर्नका लागि भइरहेको तयारी बारेमा छलफल भएको बैठकपछि कानुनमन्त्री हरिप्रसाद न्यौपानेले बताए।

छलफलमा निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगोले निर्वाचन आयोगमा तत्काल पदाधिकारी नियुक्त गरी तयारी अघि बढाएमा आगामी असारभित्रैमा निर्वाचन गर्न सकिने जानकारी गराएका थिए।

 

- अादर्श समाज सम्वाददाता