‘रेग्मी सरकार विस्थापनका लागि आन्दोलन’

पोखरा, ४ चैत। प्रधानन्याधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएपछि आन्दोलनमा उत्रिएका दलहरूले कास्कीमा आइतबार विरोधसभा आयोजना गरेका छन्।

ती दलहरू सहभागी संयुक्त आन्दोलन परिचालन समिति कास्कीले विरोधसभाको आयोजना गरेको हो।

विरोधसभालाई सम्बोधन गर्दै उनीहरूले रेग्मी नेतृत्वको सरकार विघटनका लागि आन्दोलन बाध्यता भएको बताए।

विरोधसभामा नेकपा-माओवादी कास्की इन्चार्ज सावित्री दूरा ‘आस्था’ले अब निकासको लागि आन्दोलनमात्र विकल्प रहेको बताइन्।उनले भनिन्-’आन्दोलनमा पनि दमन गरियो भने यसले अर्कै रूप लिन्छ।’

विदेशीले नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरिरहेको दाबी गर्दै उनले प्रमुख चार दलले मुर्खतापूर्ण र घातक विकल्प रोजेको दाबी गरिन्। उनले भनिन्-’भोक लाग्दा भात पाइएन भने घाँस पनि खानु त भएन नि।’

क्रान्तिकारी कम्युनिष्ट पार्टीनेपालका केन्द्रीय सदस्य विश्वासले अहिलेसम्मका आन्दोलनका उपलब्धि गुम्ने अवस्थामा पुगेको जिकिर गर्दै फेरि सशस्त्र सङ्र्घर्षमा जान सक्ने चेतावनी दिए।

कार्यक्रममा नेकपा एकीकृत तमुवान स्वशासित राज्य संयोजक भीमबहादुर श्रीसमगर, नेकपा माले कास्कीका सचिव होमनाथ गिरी, नेकपा संयुक्त कास्कीका अध्यक्ष दीर्घबहादुर जिसीले पनि बोलेका थिए।

विरोधसभाअगाडि पृथ्वीचोकबाट निस्किएको विरोधर्‍याली सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो।

विरोधसभाका सहभागीले ‘निर्दलीय सरकार राजिनामा दे’, ‘राष्ट्रिय संयुक्त सरकार गठन गरौ, ‘दलालहरू होशियार’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ जस्ता नारा लगाएका थिए। केन्द्रमा समितिमा ३४ दलको सहभागिता रहे पनि कास्कीका भने ११ दल सहभागी छन्।

कार्यक्रमको सञ्चालन नेकपा-माओवादी कास्की सेक्रेटरी कृष्ण वाग्ले ‘रूपेश’ले गरेका थिए। संयुक्त आन्दोलन परिचालन समिति कास्कीले नेपाल बार एशोसिएसन कास्कीसँग मिलेर समसामयिक विषय र कानुनी प्रावधानको विषयमा म·लबार अन्तरक्रियाको आयोजना गरेको पनि उनले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता