खानेपानी समस्या समाधानका लागि अधिकारकर्मीद्वारा ध्यानाकर्षण

पोखरा, ४ चैत। पोखराका नागरिक समाजका एक टोलीले नगरमा खानेपानीको व्यवस्था सहज बनाउन माग गर्दै खानेपानी संस्थान पोखरामा आइतबार ध्यानाकर्षण गराएको छ।

जिम्मेवार निकायलाई जवाफदेही बनाउन मानवअधिकार निगरानी समूह, शान्तिका लागि नागरिक समाजको सञ्जाल, अधिकारकर्मीललगायतको टोलीले संस्थानका कार्यालय प्रमुख शैलेन्द्रकुमार शाहलाई भेटी खानेपानीको दीर्घकालीन समस्या समाधानको लागि ध्यानाकर्षण गराएको हो।कार्यक्रममा मानवअधिकार निगरानी समूहका संयोजक कृष्णप्रसाद बरालले पोखरामा खानेपानीको समस्या विकराल बन्दै गएकोप्रति संस्थानले गम्भीररूपमा समस्या समाधानको पहल गर्नुपर्ने बताए।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बरालले संस्थान एक्लैले काम गर्न नसक्ने भएमा नागरिकसमाज, स्थानीय प्रशासन, सुरक्षा निकायलगायतसँग समन्वय र सहकार्य गरेर समस्या समाधान गर्नुपर्ने बताए।

गैसस महासङ्घका केन्द्रीय सदस्य रामप्रसाद सुवेदीले खानेपानी संस्थानका कर्मचारीहरू खानेपानी ट्याङकरसँग कमिशन खाने र आर्थिक चलखेल गर्ने क्षेत्रमा मात्र पानी वितरण गरेको गुनासो आएको बताए।

इन्सेक पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठले सरोकारवाला निकाय सबैलाई राखेर खानेपानी समस्या समाधानको लागि पहल गर्नुपर्नेमा जोड दिए।

संस्थानका कार्यालय प्रमुख शैलेन्द्रकुमार शाहले गत वैशाखमा सेतीनदीमा आएको बाढीले मर्दीखोलाको पाइप बगाएपछि खानेपानीको समस्या बढेको बताए।

उनले बजेट अभाव र प्रशासनिक प्रक्रियाको ढिलाइले गर्दा बगाएको पाइप मर्मत गर्न नसकिएको बताए।

- अादर्श समाज सम्वाददाता