वालिङ बहुमुखी क्याम्पसको ३३ औ साधारणसभा तथा १० औं अधिवेशन सुरु शिक्षाको व्यापारीकरणका कारण गरिब पहुँचबाट टाढिए : कोइराला

वालिङ, १८ फागुन। स्याङ्जाको वालिङमा रहेको देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको ३३ आंै साधारणसभा तथा १० अधिवेशन शुक्रबारदेखि सुरु भएको छ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरास्थित पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले शिक्षामा बढ्दो व्यापारीकरणका कारण शैक्षिक क्षेत्रमा गरिब तथा असहायको पहुँच पुग्न नसकेको बताए। उनले बढ्दो शैक्षिक व्यापारीकरणका कारण मुलुकको शैक्षिक अवस्था झनै खस्कँदै गएको दाबी गरे।

कोइरालाले स्याङ्जा तथा पश्चिमाञ्चल क्षेत्रको शैक्षिक स्तर उकास्नका लागि वालिङ बहुमुखी क्याम्पसले खेलेका भूमिकाको खुलेर प्रशंसा गरे।

उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस क्षेत्र नं २ का सभापति केदार काफ्ले, एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ढाकाराम अर्याल, क्याम्पस सञ्चालक समितिका सदस्य भरतप्रसाद बगाले, क्याम्पसका संस्थापक अध्यक्ष लालचन्द्र गैह्रे, क्याम्पसका पूर्व अध्यक्ष यज्ञप्रसाद गैह्रे, पूर्व क्याम्पस प्रमुख मुक्तिप्रसाद सुवेदी, वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख भोजराज अर्याल, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख तुलसी पौडेल, वालिङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी, एकीकृत माओवादीका क्षेत्रीय अध्यक्ष जगदिशप्रसाद गैह्रे, काङ्ग्रेस पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मी, गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोविन्द सिग्देल, कालिका माईक्रोक्रेडिट बैड्ढ लिमिटेडका कार्यकारी अधिकृत तेजेन्द्र लम्साल, नेपाल प्राध्यापक सङ्घ वालिङ बहुमुखी क्याम्पस एकाइ अध्यक्ष यामबहादुर कुँवर, स्ववियु सभापति मोहन खनाल, अनेरास्ववियुका विश्वनाथ अर्याल, नेविसङ्घ एकाइ सभापति किसान गुरुङ, अखिल क्रान्तिकारी क्याम्पस एकाइ संयोजक मोहन सापकोटालगायतले बोलेका थिए। कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्षहरू, सदस्यहरू, क्याम्पस प्रमुखहरू तथा क्याम्पसलाई सहयोग गर्ने विभिन्न व्यक्तित्व तथा सङ्घसंस्थालाई सम्मान समेत गरिएको थियो।

दीलिपप्रताप खाँणको स्वागतसँगै शुरु भएको ३३औं वाषिर्कोत्सव एवं १० औं अधिवेशनको उद्घाटन सत्र सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँणको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्राध्यापक शिवलाल पौडेलले गरेका थिए। क्याम्पसको बन्द सत्र शनिबार हुनेछ भने निर्वाचन कार्यक्रम आइतबार हुने क्याम्पसले जनाएको छ।

यसैबीच क्याम्पसको नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न स्याङ्जाका राजनीतिक दलहरू यतिखेर कस्सिएर लागिपरेका छन्।

क्याम्पसको नेतृत्व आफ्नो पोल्टामा पार्न भन्दै जिल्लाका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस र एमालेका नेताहरू आन्तरिक छलफल र परामर्शमा जुटेका हुन्।

त्रिभुवन विश्वविद्यालयको नियम अनुसार सामुदायिक क्याम्पसले कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ त्यसैले नेपाली काङ्ग्रेसले अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसका उपसभापति तथा सोही क्याम्पसका पूर्व प्रमुख मुक्तिप्रसाद सुवेदी, समाजसेवी बसन्त मल्ल र विद्या श्रेष्ठलाई सिफारिस गरेको छ।

त्यस्तै एमालेले भने एकीकृत नेकपा माओवादीसँगको सहकार्यमा वर्तमान अध्यक्ष कृष्णबहादुर खाँण, अनन्तराज गैह्रे र जगदीशप्रसाद गैह्रेलाई प्रस्ताव गर्ने तयारीमा रहेको बताइएको छ। गैह्रे एकीकृत नेकपा माओवादी क्षेत्र नं ३ का संयोजक हुन्।

क्याम्पसका छिमेकी गाविस, विद्यालय, काङ्ग्रेस, एमाले, एमाओवादी, माओवादी, राप्रपा र स्वतन्त्र गरी छ सय ४३ जना आजीवन सदस्य रहेका छन्।

- अादर्श समाज सम्वाददाता