क्यान इन्फोटेक मेला आजदेखि

पोखरा, ९ फागुन। क्यान कास्कीको आयोजनामा बिहीबारदेखि पोखरामा चौथौ पोखरा क्यान इन्फोटेक मेला आयोजना हुँदैछ।

आगामी फागुन १३ गतेसम्म चल्ने मेलाको लागि स्टल बुकिङ्ग र मेलास्थल सभागृहको व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा भएको क्यान कास्कीका अध्यक्ष एवं मेला मूलआयोजक समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले सो मेला गर्न लागिएको आयोजकले  जनाएको छ।

मेलामा सूचना प्रविधिसँग सम्बन्धित ८० वटा स्टल रहने छन्। पोखरा सभागृहमा संचालन हुने मेला ५० हजार दर्शकले अवलोकन गर्ने  आयोजकको अपेक्षा छ।

‘सूचना प्रविधिको प्रवर्द्वनमा मेला मुख्य गरी लक्षित हुने छ’ मेला मूलआयोजक समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले भने-’मेलालाई नाफामूलक बनाउने छैनौ। जतिसक्दो सुपथ मूल्यमा सूचना प्रविधिका सामग्रीहरू बिक्री गरिने छ।’

मेलामा अन्तर्राष्ट्रिय ब्राण्डका ल्यापटप, डेस्कटप एसेम्बल्ड तथा ब्राण्डेड कम्युटर, वाईफाई राउटर, मल्टिमिडिया प्रोजेक्टर, युपीयस, इर्न्भर्टरलगायतको प्रदर्शनी र बिक्री गरिने छ। मेलाको मुख्य प्रायोजकमा डेल नियोटि्रक नेपाल रहेको छ।

मेलाको नै अवसरमा दृष्टिबिहीनहरूका लागि कम्प्युटर शिक्षा, विद्यार्थीहरूद्वारा बनाइएका रोबोर्टको प्रदर्शनी र कम्प्युरबाट माइण्ड टेष्टको व्यवस्था समेत गरिनेछ।

मेलाको तेस्रो दिन फागुन १२ गते आई.सि.टि कन्फरेन्स पनि आयोजना गरिने छ। सो कन्फरेन्समा विज्ञहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् भने पोखराका विभिन्न स्थानहरूलाई फ्रि वाईफाई जोन घोषणा गर्नका लागि स्थानीय निकायसँग पनि छलफल गरिने छ।

मेलाको प्रचारप्रसार गर्दै पोखरामा बुधबार मोटरसाइकल र्‍याली निकालिएको छ। पोखराको सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक, सृजनाचोक, लेकसाईड, बिरौटा, महेन्द्रपुल भीमसेनचोक, बगरलगायतका स्थानहरूको परिक्रमापछि पुनः सभागृहमा पुगी समापन भएको क्यान कास्कीका महासचिव अच्युत खनियाँले जानकारी दिए।  मेला अवलोकन गर्न सर्वसाधारणका लागि ३०, विद्यार्थीका लागि २० र अनलाईन टिकट बुकिङ गर्नेहरूका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ।

- अादर्श समाज सम्वाददाता