चौथो पोखरा क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा

पोखरा, ६ फागुन। क्यान कास्कीले फागुन १० देखि १३ गतेसम्म आयोजना गर्न लागेको चौथो पोखरा क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

मेला मूलआयोजक समितिले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

विकशित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले मेला गर्न लागिएको मूल आयोजक समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए। मेलामा सूचना प्रविधिसँग सम्बन्धित ८० वटा स्टल रहने छन्। पोखरा सभागृहमा सञ्चालन हुने मेला ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

‘सूचना प्रविधिको प्रबर्द्वनमा मेला मुख्य गरी लक्षित हुनेछ’ मेला मूल आयोजक समितिका संयोजक श्रेष्ठले भने-’मेलालाई नाफामूलक बनाउने छैनौ। जतिसक्दो सुपथ मूल्यमा सूचना प्रविधिका सामग्री बिक्री गरिने छ।’

मेलामा अन्तर्राष्ट्रिय ब्राण्डका ल्यापटप, डेस्कटप एसेम्वल्ड तथा ब्राण्डेड कम्युटर, वाईफाई राउटर, मल्टिमिडिया प्रोजेक्टर, यूपीएस, इर्न्भर्टरलगायतको प्रदर्शनी र बिक्री गरिने छ। मेलाको मुख्य प्रायोजकमा डेल नियोटि्रक नेपाल रहेको छ।

मेलाको नै अवसरमा दृष्टिविहीनका लागि कम्प्युटर शिक्षा, विद्यार्थीद्वारा बनाइएका रोबोर्टको प्रदर्शनी र कम्प्युटरबाट माइण्ड टेष्टको व्यवस्थासमेत गरिने छ।

मेलाको तेस्रो दिन फागुन १२ गते आई.सि.टि कन्फरेन्स पनि आयोजना गरिने छ। सो कन्फरेन्समा विज्ञहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् भने पोखराका विभिन्न स्थानलाई प्रिm वाईफाई जोन घोषणा गर्नका लागि स्थानीय निकायसँग पनि छलफल गरिने छ।

मेलाको प्रचार-प्रसार गर्दै फागुन ९ गते पोखरामा मोटरसाइकल र्‍याली निकालिने जनाइएको छ। मेला अवलोकन गर्न सर्वसाधारणका लागि ३०, विद्यार्थीका लागि २० र अनलाईन टिकट बुकिङ गर्नेका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ। क्यान कास्कीले आर्थिक अभावका कारण कम्प्युटर शिक्षाबाट वञ्चित एक सय १० जनाका लागि यसै वर्ष छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ। छात्रवृत्तिस्वरूप बेशिकदेखि डिप्लोमासम्मको तालिम दिइने बताइएको छ।

कार्यक्रममा क्यान कास्कीका महासचिव अच्युत खनियाँले पनि बोलेका थिए।

- अादर्श समाज सम्वाददाता