सम्पदाको चार किल्ला स्रष्टा सम्मान साँझ

पोखरा, ६ फागुन। सम्पदा कला मन्दिर पोखराले यसवर्ष चार किल्ला स्रष्टा सम्मान साँझ गर्ने भएको छ।

स्रष्टाको उत्थान एवं सम्मान गर्ने मूल नाराका साथ स्थापित सम्पदा मन्दिरले विभिन्न क्षेत्रमा रहेर उल्लेख्य योगदान पुर्‍याएका स्रष्टालाई सम्पदा अवार्ड तथा सम्मान गर्दै आएको छ।

संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरको सभापतित्वमा सम्पन्न भेलाले आगामी चैत महिनाभित्र सो कार्यक्रम गर्ने निर्णा गरेको हो। सोही अवसरमा संस्थाका संरक्षक एवं सल्लाहकार वरिष्ठ समाजसेवी, शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको जीवनी सङ्ग्रहसमेत विमोचन गरिने कार्यक्रम रहेको छ।

२०६५ सालमा पहिलोपटक विभिन्न १२ जना स्रष्टालाई अभिनन्दन र तीन जनालाई सम्पदा राष्ट्रिय अवार्डबाट सम्मान गरेकोमा दोस्रो संस्करणमा १७ स्रष्टाको सम्मान साँझ एवं विविध साँस्कृतिक कार्यक्रम गरेको थियो।

यसैगरी तेस्रो संस्करणमा पञ्चामृत स्रष्टा सम्मान साँझ आयोजना सम्पन्न गरिसकेको छ। यसैबीच, श्रीपञ्चमीको दिन जन्मिएका संस्थाका संरक्षक एवं सल्लाहकार वरिष्ठ समाजसेवी, शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ६८ औ जन्मदिनको अवसरमा कुँवरप्रति सहभागीले सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना दिएका थिए।

सो अवसरमा बोल्दै कुँवरले सम्पदा कला मन्दिरले आयोजना गर्दै आएको कार्यक्रमले छोटो समयमा चर्चा कमाउन सफल भएको बताउँदै सबैको सद्भावप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा कुँवरको जीवनी सङ्ग्रहका सम्पादक तोयनाथ लामिछाने, सम्पदा कला मन्दिरका उपाध्यक्ष अम्बिका राणा, महासचिव विजय नेपाल, कोषाध्यक्ष तिर्सना गुरुङलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता