साहित्यकार डा. शर्मा अभिनन्दित

पोखरा, ५ फागुन। हिमाली साँस्कृतिक परिवार पोखराले शनिबार स्याङ्जाका साहित्यकार तथा समाजसेवी डा. महेश्वर शर्मालाई अभिनन्दन गर्‍यो।

संस्थाको १६ औं वाषिर्कोत्सव तथा शर्माको ८२ औं वर्ष प्रवेशको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो। शर्मालाई कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले ताम्रपत्र र दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए। प्रमुख अतिथि जोनले ‘महेश्वर शर्मा ८२ औं वर्ष प्रवेश आलेख र अभिलेख’ नामक ग्रन्थको लोकार्पण पनि गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक विशिष्ट व्यक्तित्वलाई अभिनन्दन र उनको योगदानमा आधारित ग्रन्थ लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गरे।

शर्मालाई साहित्यिक, समाजसेवी, प्रशासक र पारिवारिकरूपमा चिन्ने व्यक्तित्वको आलेख र शर्माद्वारा लिखित कृतिको समीक्षा उक्त पुस्तकमा समेटिएको छ। गण्डकी साहित्य परिषद् स्याङ्जाले प्रकाशन गरेको उक्त कृतिको सम्पादन सम्मानित व्यक्तित्वकी छोरी साहित्यकार शारदा शर्माले गरेकी हुन्।

सम्पादक शर्माले सो कृतिमा शर्माको व्यक्तित्व र कृतित्वको विभिन्न व्यक्तित्वले मूल्याड्ढन गरेको आदर्श समाजलाई बताइन्।

अभिनन्दित व्यक्तित्व डा. महेश्वर शर्माले अभिनन्दनबाट आफूले गरेको योगदानको कदर भएको महसुस गरेको बताएका थिए।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका प्रमुख संरक्षक चेतन कार्कीले मानिसको सकारात्मक योगदानलाई समाजले लामो समयसम्म स्मरण गर्ने बताए।

कार्यक्रमका प्राज्ञ हरिदेवी कोइराला, अन्नपूर्ण एमएफका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ, स्याङ्जा साहित्य परिषद्का अध्यक्ष विश्वप्रेम अधिकारीले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानबहादुर थापा र  सञ्चालन सचिव धर्मराज गुरुङले गरेका थिए। सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

- अादर्श समाज सम्वाददाता