‘मिस नेवाः पोखरा’को प्रारम्भिक चरण सुरु

पोखरा, १ फागुन। नेवाः खल कास्कीको आयोजनामा आगामी चैतको ३ गते आयोजना हुने ‘मिस नेवाः पोखरा ११३३’ को तेस्रो संस्करण सोमबारदेखि पोखरामा सुरु भएको छ।

नेवाः खलः कास्कीका अध्यक्ष प्रकाशमान पालिखेले नेवा छें पोखरामा प्रतियोगिताको उद्घाटन गर्दै संस्थाले नेवारी संस्कृतिसंग सम्बन्धित विभिन्न कार्य गर्दै आएको जानकारी दिए।

नेवाः खलःले मिस नेवाः पोखराको आयोजना गर्नुका साथै बेल विवाह, तायामचाः, भिन्तुनाजस्ता कार्यक्रमको आयोजना गर्नुका साथै नेवा छेंको निर्माणमा जुटेको उनले बताए।

कार्यक्रमका मूल आयोजक समिति सदस्य एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेवारहरू जातिमात्रै नभएर आफैमा सभ्यता भएको बताए। नेवार समुदायभित्र सामान्य काम गर्नेदेखि दरबारमा राजपुरोहित पेशा गर्नेसम्मका व्यक्ति रहेको बताउँदै श्रेष्ठले नेवार जाति विश्वका धेरै सभ्यतामध्येको एक भएको दाबी गरे।

मूल संयोजक इश्वरप्रसाद कर्माचार्यले नेवारी संस्कृति सर्म्वर्द्धन र संरक्षण गर्न प्रतिायोगिताको आयोजना गरेको जानकारी दिँदै संस्कृति, भाषा र पहिचानको माध्यम मिस नेवाः भएको बताए।

भाषा, संस्कृति लोप भए जाति र समुदाय नै लोप हुन सक्नेतर्फ औंल्याउँदै संयोजक कर्माचार्यले कार्यक्रम सफलताको शुभकामनासमेत दिए।

त्यस्तै, मिस नेवाः पोखरा ११३२ का संयोजक रहिसकेका निरञ्जन श्रेष्ठले अन्य सुन्दरी प्रतियोगिताभन्दा मिस नेवाः अलग रहेको उल्लेख गरे।

मिस नेवाःको औचित्यमाथि प्रकाश पार्दै उनले यो प्रतियोगिता सौर्न्दर्यसँगै साँस्कृतिक प्रतियोगिता भएको बताए।

नेवार समुदायका युवतीहरूलाई नेवारी पहिचान र संस्कृतिका बारेमा परिचित गराउने मुख्य उद्देश्य रहेको प्रतियोगिताको तेस्रो संस्करणमा १५ जना सहभागी छन्। प्रतियोगिता सम्पन्न गर्न इश्वरप्रसाद कर्माचार्यको मूल संयोजकत्वमा २० समिति गठन गरिएको छ।

प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैयाँसहित मिस नेवाःको ताज प्राप्त गर्नेछ भने फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः २५ र १५ हजार रुपैयाँको साथै अन्य उपहार प्राप्त गर्ने मूल आयोजक समितिका सहसंयोजक विमल श्रेष्ठले जानकारी दिए।

सहभागीलाई विभिन्न विधामा तालिम दिइ आगामी चैत ३ गते पोखरा सभागृहमा उपाधिका लागि प्रतिस्पर्धा गराइने नेवाः खलः कास्कीका उपाध्यक्ष अशोक पालिखेले जानकारी दिए।

उद्घाटन कार्यक्रममा आयोजकका तर्फबाट सहसंयोजक प्रदिपकुमार रञ्जितले सहभागीलाई स्वागत गरेका थिए भने बिक्रम श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए। त्यस्तै, मिस नेवाः पोखरा ११३२ रश्मी नकर्मीले सहभागीलाई आफ्नो अनुभव सुनाउँदै सफलताको शुभकामना दिएकी थिइन्।

- अादर्श समाज सम्वाददाता