बेलायतले मानवीय अपराध गरेको छ : सभापति गुरुङ

पोखरा, १६ माघ। गोरखा भूतपूर्व सैनिक सङ्घ गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङले बेलायतले नेपालीलाई अवैधानिकरूपले सेनामा लगाएर मानवीय अपराध गरेको आरोप लगाएका छन्।

उनले नेपाल कुनैपनि युद्धको पक्ष राष्ट्र नभएको र बेलायत र नेपालको बीचमा नेपालीलाई सेनामा लगाउने सम्झौताबिना सेनामा लगाएर बेलायतले अन्तर्राष्ट्रिय मान्यता र कानुनको खिल्ली उडाएको बताए।नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज) कास्कीले मङ्गलबार पोखरामा आयोजना गरेको ‘गोरखा आन्दोलन र पछिल्लो उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति गुरुङले यस्तो बताएका हुन्।

सभापति गुरुङले बेलायतको लण्डनस्थित कोर्ट अफ अपिल द मास्टर अफ द रोल्सका वरिष्ठ न्यायाधीश लर्ड जस्टीस डार्इसनको एकल इजलासले गोरखा भूतपूर्व सैनिकका १८ वर्षमाथिका सन्तानलाई पनि बेलायतको भिषा दिन निर्देशन दिएको उनले जानकारी दिए।

बेलायती अदालतको फैसलाका बारेमा फरक-फरक खालका टिप्पणी सार्वजनिक भइरहेको बेला उक्त फैसलालाई उनले आफ्नो २३ वर्षे गोरखा आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको धारणा राखे।

सभापति गुरुङले भने-’बेलायत सरकार कानुनी राज्य र विधिको शासन मान्छ भने तत्काल नीति बनाएर फैसलालाई कार्यान्वयन गर्नुपर्छ।’ राणा शासक र बेलायतका कारण नेपालले हालको दुर्दशा सामना गर्नुपरेको गुरुङले दाबी गरे।

मानवअधिकारको नाउँमा नेपालको बाहलबाला आईजीपीलाई भिषा नदिनु, कर्णेल कुमार लामालाई पक्राउ गरिनु लज्जाजनक भएको उनको दाबी थियो। उनले थपे-’विदेश जाँदा यस्तै भए प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पनि बेलायतले पक्राउ गर्न सक्छ।’

गेसोले स्याङ्जाको फेदीखोलाको साल्मेडाँडामा निर्माण गर्न लागेको गोरखा स्मारक बेलायतको अत्याचार विरुद्धको स्मारक बन्ने उनको भनाइ थियो। उनले सिंहदरबार र बेलायतको वकिङ्घम दरबारसँग विश्वयुद्धलगायतका युद्धमा नेपालीलाई सामेल गराउनुको कारण खोज्न तीन करोड नेपाली आन्दोलित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सुवेदार हरिमान तामाङ, कमल पौडेल ‘अथक’, गोविन्द सुवेदी, गिरीप्रसाद गुरुङ, गोकुल बानियाँ, फडिन्द्र अकिञ्चन, फरेन्द्र थापामगर, विवेक थापा, महेश खाती, सुमन गुरुङ, प्रेम घलेलगायतले जिज्ञासा राखेका थिए।

अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बीबी आले ‘सिन्धुलिया’ ले र सञ्चालन सचिव रुद्र श्रीसले गरेका थिए।

- अादर्श समाज सम्वाददाता