पुरुन्चौरको महायज्ञमा तीन करोड ८७ लाख बचत

पोखरा, १६ माघ । कास्कीको पुरुन्चौर गाविसस्थित भारती भवन उच्च माविमा सञ्चालित श्रीमद्भागवत् महापुराण एवं धनधान्याचल महायज्ञको म·लबार आयव्यय सार्वजनिक गरिएको छ।

महायज्ञ मूल आयोजक समितिले कार्यक्रम गरी आयव्यय सार्वजनिक गरेको हो। महायज्ञबाट कुल तीन करोड ८७ लाख ४० हजार चार सय ६१ रुपैयाँ बचत भएको लेखा समितिका संयोजक पुष्पराज पौड्यालले जानकारी दिए।

उनका अनुसार, महायज्ञ सम्पन्न गर्नका लागि ३५ लाख २७ हजार पाँच सय १९ रुपैयाँ खर्च भएको छ। मङ्सिर २४ देखि पुस १ गतेसम्म सञ्चालित महायज्ञमा चार करोड २२ लाख ४३ हजार ११ रुपैयाँ सड्ढलन भएको थियो।

कृषि विज्ञान प्रविणता प्रमाणपत्र तहका कक्षा सञ्चालन गर्ने, विभिन्न विषयमा स्नातक तह सञ्चालन गर्ने र १० जोड दुर्इ तर्फ विज्ञान समूहका कक्षा थप गर्न आवश्यक पर्ने रकम सड्ढलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको थियो।

आयव्यय सार्वजनिक कार्यक्रममा बोल्दै महायज्ञ मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद गौतमले लक्षित उद्देश्य हासिल गर्नका लागि तत्काल काम सुरु गरिने बताए।

समितिका सहअध्यक्ष डा. गुणननिधि पौडेल, वरिष्ठ उपाध्यक्षद्वय तेजबहादुर अधिकारी, दीपक पौडेल, कोषाध्यक्ष रामप्रसाद अधिकारी, समाजसेवी लोकनाथ गौतम, एनेकपा माओवादीका बलराम गौतम, नेपाली काङ्ग्रेसका गणेशप्रसाद पौडेल, नेकपा एमालेका उमनाथ गौतम, राप्रपाका दिलबहादुर अधिकारी क्षत्री, शिवपुरी आमा समूहकी अध्यक्ष मना गिरी, महिलाहरूको तर्फबाट विद्या पौडेलले पुरुन्चौरबासीको एकता र उत्कृष्ट व्यवस्थापनका कारण महायज्ञ सफल भएको बताए। उनीहरूले पुरुन्चौरमा कृषि क्याम्पस नबनेसम्म सहयोग गरिरहन सरोकारवालाई आह्वान गरे। कार्यक्रमको सञ्चालन महायज्ञ मूल समारोह समितिका सचिव भरतराज काफ्लेले गरेका थिए।

- अादर्श समाज सम्वाददाता