चलचित्र ‘कर्म’ विर्तामोडमा प्रदर्शन हुने

पोखरा, १५ माघ। मस्यैकुँ कोट आमा समूह ल्वाङ कास्कीद्वारा निर्मित गुरुङ भाषाको चलचित्र कर्म झापा जिल्लाको विर्तामोडमा पनि प्रदर्शन हुँने भएको छ।

तमु हयूला छोँज धिंको दोस्रो महाधिवेशनका अवसरमा महाधिवेशनका सहभागी समेतले हेर्न पाउने सुविधालाई ध्यानमा राखी उक्त प्रदर्शन गर्न लागिएको हो। महाधिवेशन यही माघ २०, २१ र २२ गते बिर्तामोडमा हुँदैछ।

कर्मको पहिलो प्रदर्शन कल्पना सिनेमा हल पोखरामा गत असोज ३० गते भएको थियो। दर्शकको अनुरोधमा त्यसपछि दोस्रो प्रदर्शन कात्तिकमा भयो। यसैगरी काठमाडौंको राष्ट्रिय नाचघर जमलमा यही माघ ६ गते तेस्रो प्रदर्शन भइसकेको छ। गुरुङ संस्कृतिलाई समेटेर बनाइएको चलचित्र कर्मलाई भाषा प्रचारको दृष्टिकोणले पनि पूर्वाञ्चल क्षेत्रमा प्रदर्शन गर्न लागिएको निर्देशक बोनी गुरुङले जानकारी दिए। चलचित्र कर्म पत्रकारिता क्षेत्रलाई समेत समेटेर निर्माण गरिएको चलचित्र हो।

बिर्तामोडमा हुने प्रदर्शनको क्रममा चलचित्रका निर्देशक बोनी गुरुङ, नायक अजय गुरुङ, निर्माता लक्षिण कुमार गुरुङ, कविता गुरुङ र प्राविधिक प्रकाश पौडेल त्यसतर्फ जाने भएका छन्।

- अादर्श समाज सम्वाददाता