मागप्रति ध्यानाकर्षण गराउन हाजिरीजवाफ प्रतियोगिता

पोखरा, १५ माघ। अनेरास्ववियु क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस इकाई समितिले सोमबार क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

क्याम्पसको शैक्षिक तथा भौतिक सुधारको मागसहित गत माघ ७ गते क्याम्पस प्रशासनमा बुझाइएको १६ बुँदे मागप्रति ध्यानाकर्षण गराउन रचनात्मक कार्यक्रमअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु क्रान्तिकारीले जनाएको छ।क्रान्तिकारीले क्याम्पसको मासिक आर्थिक विवरण सार्वजनिक गरिनुपर्ने, त्रिविले तोकेको नियमअनुसार सिफ्ट सिस्टम कार्यान्वयनका लागि विद्युतीय हाजिरीको व्यवस्था गर्नुपर्ने, छात्रवृत्ति वितरणमा हुँदै आएको असमानता रोकी वैज्ञानिकरूपले छात्रवृत्ति वितरण गरिनु पर्ने, स्वर्णजयन्ती स्मृति भवन निर्माणमा भएको अनियमितता र ढिलासुस्ती रोकी भवन निर्माणको काम अघि बढाउनुपर्ने, होस्टेलको पुनर्निर्माण, मर्मत र रेखदेख गरिनुपर्ने लगायतका माग राखेको छ।

प्रतियोगितामा सफल आचार्य, रक्षा गिरी, सरोज भण्डारीको बीए एलएलबीको समूह प्रथम, राजेन्द्र भण्डारी, विश्व पराजुली, इश्वर अधिकारीको समूह द्वितीय र विनोद सुवेदी, रामचन्द्र पौडेल, शिवबहादुर थापाको समूह तृतीय भए। प्रतियोगितामा ४९ समूहको सहभागिता थियो। अनेरास्ववियु क्रान्तिकारीका पनारायण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तमुवान सहसेक्रेटरी हरिसुमन अजित पनि सहभागी थिए।

- अादर्श समाज सम्वाददाता