पश्चिमाञ्चलमा टेलिकमको वाई म्याक्स सेवा

पोखरा, १४ माघ। नेपाल टेलिकमले पश्चिमाञ्चलमा आईतबारबाट द्रुत गतिको इन्टरनेट वाई म्याक्स सेवा व्यवसायिक रूपमा सुरु गरेको छ।

पहिलो चरणमा यो क्षेत्रमा रहेका कर्पोरेट ग्राहकलाई प्रदान गरिन लागेको यस सेवाको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक सुमनराज शर्माले उद्घाटन गरे। उनले प्रतिश्पर्धी, गुणस्तरीय र ग्राहकमुखी सेवा प्रदान गर्न टेलिकमलाई सुझाव दिए।

कार्यक्रममा नेपाल टेलिकमका वाईम्याक्स आयोजना प्रबन्धक सुवास शाहले वाई म्याक्स प्रविधिको बारेमा जानकारी दिएका थिए। उनले वाईम्याक्स अहिले टेलिकमले तीन महिना र एक वर्षका लागि फरक-फरक प्याकेज ल्याएकेा जानकारी दिए।

पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, पर्यटन व्यवसाय, सरकारी र गैरसरकारी निकायलाई सो सेवा प्रदान गर्ने टेलिकमले जनाएको छ। वाई म्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवामा सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा हो।

यसअघि काठमाडौं र चितवनमा सञ्चालनमा आइसकेको यो प्रविधि विस्तारै अन्यत्र विस्तार गर्ने टेलिकमले जनाएको छ। पूर्णरूपमा तारविहिन यो सेवाका दुर्इ लाख लाईन वितरण गर्ने टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले जनाएका छन्।

टेलिकमले यो सेवाको प्रारम्भको अवसरमा विभिन्न प्याकेज खरिद गर्दा तीन महिनासम्म ५० प्रतिशत छुट नीति लिएको छ।

नेपाल टेलिकम पश्चिमाञ्चलक क्षेत्रीय निर्देशक विजय ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकम पोखरा कार्यालयका प्रमुख प्रकाशमान प्रधानले स्वागत मन्तव्य राखेका थिए।

- अादर्श समाज सम्वाददाता