बूढानीलकण्ठका विद्यार्थीको भदौरे भ्रमण

पोखरा, १४ माघ। बूढानीलकण्ठका विद्यार्थीले प्रसिद्ध पञ्चासेको काखमा रहेको भदौरेको भ्रमण गरेका छन्। राजधानी लगायत ठूला सहरका विद्यार्थीको यो भ्रमण पञ्चासेका ग्रामीण क्षेत्रका लागी पहिलो भएको छ।

सहरमानै जन्मेर सहरी वातावरणमा नै हुर्केबढेका विद्यार्थीले यस भेकको प्रकृति र संस्कृतिसँग परिचित हुने अनि ग्रामीण जीवनशैली तथा गाउँले कृषक परिवेशसँग घुलमिल हुनु अवलोकन भ्रमणको उद्देश्य रहेको थियो।

गाउँको बारेमा विद्यार्थीहरूले सैद्धान्तिक रूपमा अध्ययन गर्ने गरेको नेपाली पनका ढुङ्गे घरहरूका रमाइला गाउँ वस्ति र कृषि पेशा अंगाल्दै आएका समुदायको दैनिकीमा पर्ने दहि मथेको, गाई भैंसी दुहेको, परम्परागत रूपमा पीठो पिन्न जाँतो चलाएको, ढिकी कुटेका, मौरी पालन जस्ता कुराहरू उनीहरूले प्रत्यक्ष रूपमा पहिलो पटक देखेको र अत्यन्तै नौलो लागेको भ्रमणमा संलग्न विद्यार्थी समिक्षा भुषालले बताइन्।

हलो जोतेको र मौसम अनुसार खेति लगाउने तरिका, भाँडाकुँडा बनाउने आरन र सो गाउँमा रहेको गुरुङ सङ्ग्रहालय उनीहरूलाई अझै चाख लागेर अवलोक गरेका थिए।

खाली आधुनिकतासँग रमेका बालबालिकाले भ्रमणका क्रममा गुरुङ समुदायले देखाएको सांस्कृतिक कार्यक्रम झनै रमाइले लागेको भ्रमण टोलीका अर्का सदस्य संभ्रान्त केसीले बताए।

भ्रमण प्रत्यक्ष अवलोकन अति उपायोगी सिकाइ रहेको र अझै पञ्चासे क्षेत्रको टाकुरासम्म पुनः घुम्न आउने भ्रमण दलमा रहेका कृषि तथा रसायन शास्त्रका शिक्षक ध्रुवकुमार श्रेष्ठले बताए।

गाउँघर अझै सफा राखेमा सुनामा सुगन्ध हुने, अनि विभिन्न विषयमा सूचना बोर्डलगायत, जानकारीहरू राख्नुपर्ने, स्थानीय गाइडको व्यवस्था हुनुपर्ने लगाइतका सुझाव समेत उनीहरूले दिएको थिए।

भ्रमणका क्रममा यु.एस.सी. क्यानाडा एशिया संस्थाका क्षेत्रीय प्रतिनिधि तथा वैज्ञानिक सल्लाहकार कृषि विज्ञ डा. प्रताप श्रेष्ठले पञ्चासेका विद्यालायका विद्यार्थीका लागि यस्ता सुन्दर गाउँहरू कृषि, प्राकृतिक वन वातावरण, संस्कृतिको अध्ययन स्थलो बन्न सक्ने बताए।

भ्रमणको संयोजन गरेको माछापुच्छे्र विकास सङ्घका अध्यक्ष दिलबहादुर भट्टराईले विभिन्न शैक्षिक संस्थाका बालाबलिकाको यस पञ्चासे क्षेत्रको अवलोकन भ्रमणबाट जैविक विविधताको समेत अध्ययन गर्न सकिने र ग्रामीण कृषि तथा पर्यापर्यटन पनि फैलाउन सकिने बताए। उनीहरूलाई स्थानीय आमा समूह, युवा क्लब तथा घरवासलगायतका समूहले स्वागत तथा विदाइ गर्दै यस्ता अवलोकन भ्रमणका लागि यस भेकमा आउन पञ्चासे कृषि विकास समितिका अध्यक्ष खेमकुमारी गुरुङले आग्रह गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता