काङ्ग्रेस नेतृत्वमा सरकार भए समयमै चुनाव : पौडेल

पोखरा, १३ माघ। नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गर्न पाउने हो भने संविधानसभाको चुनाव समयमै हुने दाबी गरेका छन्।

पोखरा विमानस्थलमा प्रेस युनियन कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।

उपसभापति पौडेलले माओवादीले इमान्दारीपूर्वक काङ्ग्रेसलाई सत्ता हस्तान्तरण गर्ने हो भने जेठ १५ भित्रै चुनाव गराइदिने ग्यारेन्टी लिन तयार भएको बताए।

माओवादीलेे काङ्ग्रेसले चुनाव गरिहाल्छ भन्ने डरले काङ्ग्रेसलाई सत्ता हस्तान्तरण गर्न नचाहेको आरोप उनले लगाए। चुनाव गराउने पक्षमा माओवादी भए काङ्ग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो।

काङ्ग्रेस र एमालेले थालेको आन्दोलन लोकतन्त्रको पक्षमा भएको भन्दै यो आन्दोलनले हिंसाको राजनीतिलाई सदाको लागि अन्य गर्ने उनले विश्वास व्यक्त गरे। साथै, माओवादीले राष्ट्रिय ढिकुटी हिनामिना गरेको आरोप लगाउँदै उनले आन्दोलनमार्फत काङ्ग्रेसले सवै हिसावकिताव जनताबीचमा ल्याउने बताए। प्रेस युनियन कास्कीका सचिव माधव रेग्मीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य मदन पौडेलले गरेका थिए।

- अादर्श समाज सम्वाददाता