दशावतार बालनमा पोखरेली मन्त्रमुग्ध

पोखरा, १३ माघ। सधैजसो राजनीतिक भाषण, सम्मेलन र साङ्ग·ीतिक कार्यक्रम मात्र हुने पोखरा सभागृहमा शनिबार पोखरेली दर्शक फरक खालको दृश्यावलोकन गरी मन्त्रमुग्ध भए।

हिन्दू धार्मिक मान्यताअनुसार भगवानका दश अवतारको लीला शनिबार सभागृहमा प्रदर्शन गरियो। पाल्पाको रामपुरबाट कलाकार ल्याएर निःशुल्क यस्तो विरल अवसर हेर्ने चाँजोपाँजो अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले मिलाएको हो। बालन हेर्न प्राज्ञ सरुभक्तलगायत पोखराका लोकवाङमयप्रमीको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा चार दर्शन बढी कलाकारले दश अवतारको कथा गाथा, गीत, संवाद र अभिनयका साथमा प्रस्तुत गरेका थिए। उनीहरूले विभिन्न अवतारको प्रस्तुति गर्न गाउँघरमा पाइने सामग्रीको प्रयोग गरे।

कार्यक्रममा काठमाडौंबाट आएका वरिष्ठ नाटककार अशेष मल्लले लोक संस्कृति नै मौलिक पहिचान भएकोले यसलाई बचाउन आग्रह गरे। प्रतिष्ठानको यो सत्कार्यलाई सघाउन नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।

दशावतार बालन लोकनाटकको अध्ययन गरी वि. स. २०६९ ‘दशावतार बालन लोकनाटक’ नामको कृतिसमेत प्रकाशित गरि सकेका डा. कुशुमाकर न्यौपानेको बालनको महत्त्वको बारेमा प्रकाश पारेका थिए।

दश अवतारमा मत्स्य, कूम, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की रहेको उनले जानकारी दिए। प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले बालन प्रदर्शन गरेर लोककवि अलि मियाँकै भावनाको सम्मान गरेको विचार व्यक्त गरे।

उनले भने-’अहिलेको अवस्थामा धार्मिक सहिष्णुताको काम हो यो भन्ने मलाई लागेको छ।’ मुस्लिम धर्माबलम्बी भए पनि लोक कवि अलि मियाँलाई रामायण र महाभारताका धेरै श्लोक कण्ठस्थ थिए। प्रतिष्ठानले सो अवसरमा बालनका निर्देशक लक्ष्मीचन्द्र पंगेनी र सहनिर्देशक नारायणप्रसाद पोखरेललाई सम्मान गरेको पनि गर्‍यो। कार्यक्रममा सहभागी सबै कलाकारलाई प्रोत्साहन पत्रसहित सम्मान गरिएको थियो।

सोही कार्यक्रममा पाल्पाली समाज पोखराले नगद रु. १० हजार र डा. सावित्री कक्षपतिले रु. एक हजार एकसहित कलाकारको सम्मानको सिलसिला अगाडि बढाए।

नेपालमा रहेका विभिन्न संस्कृतिको उत्थान र वाङमयको क्षेत्रमा क्रियाशील रहेको यस प्रतिष्ठानले सष्टाहरू रहेकै स्थानमा पुगेर सम्मान पनि गर्दै आएको छ।

कार्यक्रम अघि झाँकीसहितको र्‍याली पोखराको पृथ्वीचोकबाट सभागृहगृह चोक हुँदै पोखरा सभागृहमा पुगेको थियो। प्रतिष्ठानले पाल्पा नै गएर बालनका कलाकारहरूलाई वि. सं. २०६७ मा निःशुल्क भेषभूषा प्रदान र सम्मान गरिसकेको संस्थाका सचिव पद्मराज ढकालले जानकारी दिए।

संस्थाका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिदेवी कोइराला र सञ्चालन सचिव पद्मराज ढकालले गरेका थिए।

- अादर्श समाज सम्वाददाता