नियमित बजेट नछुट्टयाउँदा सार्वजनिक पुस्तकालयको अवस्था खस्कँदो

पोखरा, १३ माघ। सरकारी नीति नियम पारित हुन नसक्दा सार्वजनिक पुस्तकालय धरासाय बन्दै गएको धारणा व्यक्त गरिएको छ।

सूर्यचन्द्र विकास समाज मालेपाटनद्वारा सञ्चालित शहीद स्मृति पुस्तकालय स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक पुस्तकालय सञ्चालक र पुस्तकालयकर्मीबीच शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त कुरा बताएका हुन्।

शिक्षा मन्त्रालयले केही अघि विद्यालय र सार्वजनिक पुस्तकालय स्थापना गर्ने सम्बन्धी कार्यविधि तयार गर्ने भनिए तापनि अहिले कार्यविधि पास नहुँदा सार्वजनिक पुस्तकालय धरासायी बन्दै गएको उनीहरूको भनाइ थियो।

उनीहरूले सरारकाले सार्वजनिक पुस्तकालयलाई नियमितरूपमा वजेट छुट्टयाउन नसक्दा पनि सार्वजनिक पुस्तकालयको अवस्था दिनप्रतिदिन खस्कदो रहेको बताएका थिए।

कार्यक्रममा सार्वजनिक पुस्तकालयको चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै पुस्तकालय आवाजका सम्पादक विष्णुप्रसाद अर्यालले हाल नेपालमा एक हजार सार्वजनिक पुस्तकालय रहेको अनुमान गरिए पनि पुस्तकालयको अवस्था भने सन्तोषजनक नरहेको धारणा राखे।

नेपालमा रहेका अधिकांश पुस्तकालय दान र सहयोगले चलेको भन्दै पुस्तकालयमा आधुनिक प्रविधि भित्रिन नसक्दा पनि पुस्तकालयको अवस्था खस्किएको बताए।

‘सेतो हात्ती किन्नभन्दा पाल्न गाह्रो भन्ने उखान अहिले पुस्तकालय सञ्चलनमा लागू भएको छ’-उनले भने-’जबसम्म पुस्तकालय आफैमा सक्षम हुँदैनन्, तबसम्म निरन्तरता पाउन गाह्रो पर्ने छ।’

पाठकको आवश्यकता पहिचान गरेर सेवा दिन सक्ने तालिमप्राप्त कर्मचारीले मात्रै सार्वजनिक पुस्तकालय चलाउन सक्ने उनको भनाइ थियो। कार्यक्रममा सूर्यचन्द्र विकास समाजका कार्यकारी निर्देशक धनबहादुर नेपालीले पुस्तकालयलाई अझै व्यवस्थित गरेर लैजान लागेको जानकारी दिए।

सूर्यचन्द्र विकास समाजका अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बसन्त भण्डारीले स्वागत र महासचिव गायत्री भुर्त्यालले कार्यक्रम सञ्चालन गरेकी थिइन्। यस क्रममा सूर्यचन्द्र विकास समाज शहीद स्मृति पुस्तकालयद्वारा सञ्चालित १० दिने पुस्तकालय आधारभूत तालिममा सहभागी २५ जना प्रशिक्षार्थीले लेखनाथ नगरपालिकास्थित पोखरा विश्वविद्यालय अर्न्तर्गतको केन्द्रीय पुस्तकालय एवं भण्डारढिकस्थित दीपशिखा पुस्तकालय भ्रमण तथा अवलोकन गरेका छन्।

पोखरा विश्वविद्यालय केन्द्रीय पुस्तकालयका लाइब्रेरियन दुर्गा आचार्य, दीपशिखा सामुदायिक पुस्तकालयका सञ्चालक समितिका अध्यक्ष इश्वरबहादुर हमालले पुस्तकालय समस्या तथा पुस्तकालय सञ्चालन प्रविधिबारे बताएका थिए।

- अादर्श समाज सम्वाददाता