चौथो वालिङ महोत्सव सुरु आन्दोलनले सरकारको घुँडा टेकाउँछ : कोइराला

वालिङ, १२ माघ। चौथो वालिङ महोत्सव तथा क्षेत्रीय औद्योगिक कृषि, पर्यटन तथा व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ।

‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रको खिलाफमा जाने शक्तिहरू आफै पतन भएर जाने बताए।

‘लोकतन्त्रको विरोध गर्नेहरू आफै समाप्त भएर जानेछन्’-सभापति कोइरालाले भने-’प्रजातन्त्रविरोधी भएर देखिएको राणा शासन, पञ्चायती शासन र ज्ञानेन्द्र जसरी पतन भएर गए, त्यसरी नै लोकतन्त्रको विरोधमा देखिएको माओवादीको पनि हालत त्यस्तै हुनेछ।’

गिरिजाबाबुले ज·लबाट यहाँसम्म ल्याउँदा खेलेको भूमिका नबिर्सन आग्रह गर्दै सभापति कोइरालाले भने-’प्रचण्ड र बाबुरामजी आफ्नो धरातल नबिर्सनुहोस्।’ सभापति कोइरालाले आफूहरूले सुरु गरेको आन्दोलनले सरकारको घुँडा टेकाइछाड्ने दाबी समेत गरे।

प्रजातन्त्रवादीहरूको नेतृत्वमा भएको आन्दोलनले ठूलाठूला शासकहरूको पतन भएको उल्लेख गर्दै सभापति कोइरालाले आफूहरूले सुरु गरेको आन्दोलनलाई सामान्य नठान्न पनि माओवादीलाई आग्रह गरे। सभापति कोइरालाले स्याङ्जाको वालिङमा भएको चौथो वालिङ महोत्सव यस क्षेत्रको आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताए।

साथै उनले महोत्सवले यस क्षेत्रको कृषि उत्पादन, पर्यटन, तथा यहाँका पहिचानहरूको संरक्षणका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे।

महोत्सवको उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, एमालेका केन्द्रीय कमिटी सदस्य तथा पूर्व ऊर्जामन्त्री गोकर्णबिष्ट, काङ्ग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यद्वय चोपनारायण श्रेष्ठ, दीपक लम्साल, एकीकृत माओवादीका जिल्ला संयोजक पारसमणि पौडेल, नेपाली काङ्ग्रेस सभापति कमल पंगेनी, एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेल, मुक्तिनाथ विकास बैड्ढका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाललगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए।

वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुण्यप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले स्वागत गरेका थिए भने सञ्चालन महासचिब खगेन्द्रप्रसाद अर्यालले गरेका थिए।

यसैबीच प्रथम वालिङ महोत्सवदेखि चौथो महोत्सवसम्म प्रयोग गर्दै आएको हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने नाराको रचना गरेको भन्दै रेडियो आँधीखोलाका अध्यक्ष धु्रवप्रसाद शर्मालाई शुक्रबार सम्मान गरिएको थियो।

स्याङ्जाको वालिङ्स्थित वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सव तथा व्यापार मेला माघको २१ गतेसम्म चल्नेछ। महोत्सवमा बाल उद्यान, विज्ञान तथा प्रविधि, शैक्षिक प्रदर्शनी, स्थानिय कृषि उपजको प्रदर्शनी, सुन्तला प्रदर्शनी, विभिन्न अटोमोबाइल प्रदर्शनी, फेन्सी तथा कपडा, होटल, स्थानीय स्वादका परिकारको प्रदर्शनीलगायत दुर्इ सय २० वटा स्टल रहेका छन्।

महोत्सव सुरु हुनुभन्दा अगाडि वालिङ तथा आसपासका क्षेत्रबाट विभिन्न सङ्घसंस्था, आमा समूह, जातजाति, विद्यालयले आ-आफ्नो संस्कृति, पहिचान झल्कने झाँकीसहितका र्‍यालीले स्याङ्जाको विभिन्न स्थान परिक्रमा गरी महोत्सव स्थलमा प्रवेश गरेको थियो।

महोत्सवमा पाँच करोड रुपैयाँको कारोबार तथा तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको वालिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताए।

- अादर्श समाज सम्वाददाता