पत्रकारलाई जिल्लामा फर्किन गृहमन्त्रीको आग्रह

काठमाडौं, १२ माघ। गृहमन्त्री विजयकुमार गच्छदारले दैलेखबाट पत्रकारहरू विस्थापित भएको भन्ने समाचार र घटनालाई आफूले अत्यन्त गम्भीरताका साथ लिएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री गच्छदारले पत्रकारको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

गृहमन्त्री गच्छदारले असहज परिस्थितिका कारण दैलेख छाडेका पत्रकारहरूलाई जिल्लामा नै र्फकन वातावरण बनाइदिन महासङ्घसँग आग्रह गर्दै यस सम्बन्धमा आफूले मातहतका निकायलाई विशेष निदेशन तुरुन्त दिने प्रतिबद्धता व्यक्त गरे।

वातावरणलाई सहज तुल्याउन सरकारको भन्दा बढी भूमिका पत्रकारहरूको रहेको हुनाले कृत्रिम कुरा उठाएर वातावरणलाई असज नतुल्याइदिन गच्छदारले आग्रह गरे।

त्यत्रो सङ्ख्यामा पत्रकारहरूले जिल्ला छाड्न लागेको विषयमा महासङ्घले सुरक्षा निकायलाई जानकारी नगराएको भन्दै उनले आर्श्चर्य प्रकट गरे।

आफूले दैलेखका बारेमा पछिल्लो पटकसम्म लिएको रिपोर्टमा सञ्चार माध्यममा आएजस्तो भयावह स्थिति नदेखिएको दाबी गर्दै उनले दैलेखका पत्रकारहरूलाई काम गर्ने वातावरण र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने आश्वासन दिए।

पत्रकार थापाको हत्याबारे अनुसन्धान भइरहेको अवस्थामा त्यसै विषयलाई लिएर राजनीतिक दलका क्रियाकलाप मूठभेडतर्फ जान खोज्नु दुखद् विषय भएको बताए।

कार्यक्रममा महासङ्घका सभापति शिव गाउँलेले दैलेखबाट जिल्ला नै खाली गरेर पत्रकार हिँड्नु पर्ने अवस्थाले लोकतन्त्र नै विस्थापित हुने अवस्था आएको भन्दै पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न तथा भय र त्रासको वातावरण अन्त्य गर्नका लागि विशेष निर्देशनका लागि आग्रह गरेका थिए।

यसैबीच, माओवादी कार्यकर्ताको धम्कीपछि विस्थापित पत्रकारले सुरक्षा ग्यारेन्टी नभएसम्म जिल्ला नफर्किने अडान लिएका छन्। ज्यान मार्ने धम्कीका कारण जिल्लाबाट सुर्खेत विस्थापित भएका पत्रकारले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म जिल्ला नफर्किने अडान राखेका छन्।

- अादर्श समाज सम्वाददाता