दैलेख घटना नियन्त्रणमा असफल भएको भन्दै सिडिओ र प्रहरी प्रमुख सरुवा

काठमाडौं, ११ माघ। प्रधानमन्त्री सहभागी सार्वजनिक र्कायक्रममा सुरक्षा व्यवस्था गर्न नसकेको आरोपमा सरकारले दैलेखका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पनि फिर्ता बोलाएको छ।

प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो आदेशमा गृह मन्त्रालयले सिडियो ढकाललाई फिर्ता बोलाएको हो। सुरक्षा दिन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले दैलेखका डीएसपी र दुर्इ इन्सपेक्टरको सरुवा गरेको छ।

बुधबार प्रधानमन्त्री भट्टराई, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी कार्यक्रममा सुरक्षा व्यवस्था मिलाउन नसकेको र सुरक्षा व्यवस्थामा गम्भीर लारपकाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले दैलेखका डिएसपी शारदाप्रसाद चौधरी, प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदी र किरण न्यौपानेलाई सरुवा गरेको हो।

पत्रकार डेकेन्द्रराज थापाको हत्याको बारेमा अनुसन्धान गरिराखेका प्रहरी अधिकृतहरूको सरुवाले हत्या अनुसन्धान कार्य प्रभावित हुने देखिएको छ। प्रहरीले अनुसन्धान अधिकृत विनोद शर्माको पनि सरुवा गर्न लागेको श्रोतले बताएको छ।

सुरक्षा व्यवस्थामा लापरबाही गरेकै कारण प्रधानमन्त्री संलग्न कार्यक्रममा ढुङ्गामुढा भएको प्रहरी प्रधान कार्यालयको निष्र्कष छ। विपक्षीको ढुङ्गामुढाका कारण एकीकृत माओवादीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम केहीबेर बिथोलिएको थियो।

डीएसपी चौधरी र दुर्इ इन्सपेक्टरले कमाण्डरको आदेश नमानेको, विपक्षीसँग मिलेर कार्यक्रमस्थलसम्म विपक्षीलाई पुग्न दिएकोलगायतको अभियोग प्रहरी अधिकारीमाथि छ।

यसैबीच, गृहमन्त्रालयले बुधबार दैलेख जिल्लामा भएको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी उक्त समितिलाई सो घटना हुनुको कारण सम्बन्धमा सत्यतथ्य बुझी छानबिन गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा समेत सिफारिससहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न भनेको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले प्रधानमन्त्री उपस्थित कार्यक्रममा सुरक्षा ब्यवस्था मिलाउन नसकेकोले दैलेखका सिडियो र प्रहरीको सरुवा गर्नुपरेको बताए। उनले राजनीतिक सभा गर्न पाउने नैसर्गिक अधिकारमा ढुङ्गामुढा गरेर विपक्षी दलहरूले अलोकतान्त्रिक काम गरेको टिप्पणी गरे।

पत्रकार डेकन्द्रको थापाको हत्याराको विषयमा सोधिएको प्रश्नमा गृहमन्त्री गच्छदारले दण्डहीनताको अवस्था सदैव नरहने भन्दै प्रहरी प्रशासनले हत्याराको अनुसन्धानका लागि हिसासतमा कायम राखिएको दाबी गरे। यसैबीच, प्रेस स्वतन्त्रता, कानुनी राज्य, मानव अधिकारको परिपालनका लागि भन्दै प्रजातान्त्रि विचार समाजले बिहीबार सिंहदरबार दक्षिण गेटमा एक घण्टा धर्ना दिएको छ।

वर्तमान सरकारबाट पत्रकार हत्याको अनुसन्धान निस्तेज पार्ने, स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने, दण्डहीनतालाई प्रश्रय दिएको, महिला हिंसाका घटनामा संलग्नलाई कारबाही नगरेको भन्दै समाजले धर्ना दिएको हो। धर्ना कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. चन्द्रलाल श्रेष्ठले मानवअधिकार तथा दण्डहीनताको अन्त्य, प्रेस स्वतन्त्रताका लागि धर्ना दिइएको बताए।

- अादर्श समाज सम्वाददाता