लेखनाथ महोत्सवमा सांस्कृतिक र्‍याली निकालिने

लेखनाथ, ११ माघ। लेखनाथ महोत्सव २०६९ अन्तर्गतको नवौं लेखनाथ महोत्सवमा आदिवासी जनजाती र आमा समूहहरूले आ-आफ्नो संस्कृति झल्कने गरी झाँकी, भेषभूषासहितको र्‍याली निकालिने भएको छ।

माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने नवौ महोत्सवलाई प्रभावकारी र भव्य बनाउन आफ्नो संस्कृति जगेर्नामा सहयोग पुग्नेगरि आदिबासी जनजाति सांस्कृति झाँकी एवं र्‍याली उपसमितिले बिहीबार राखेको छलफल कार्यक्रममा उपस्थित आमा तथा महिला समूहहरूले महोत्सवको उद्घाटनको दिन आ-आफ्नो टोलबाट भेषभूषासहितको सांस्कृतिक र्‍याली निकाल्ने निर्णय गरेका छन्।

रीतिरिवाज झल्कने सास्कृतिक झ्याकी तथा र्‍याली व्यवस्थापन उपसमितिका संयोजक शेरवहादुर तमुको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगर क्षेत्र र छिमेकी गाविस भरतपोखरी, कालिका, हंशपुर, देउराली र रूपाकोटबाट समेत गरी दुर्इ सय २० वटा आमा समूहको उपस्थिति रहेको थियो।

बैठकमा ङ्योए तमु धीँ लेखनाथका अध्यक्ष जंगबहादुर तमु, ब्राह्मण समाज लेखनाथका अध्यक्ष डिल्लीरमण बास्तोला, उपस्थित आमा समूहहरूका अध्यक्षले आफ्नो आफ्नो जातीय भेषभूषासहितको धेरै भन्दा धेरै सहभागीसहित झाँकी र र्‍याली ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन भट्टराई, महासचिव बाबुराम गिरी, कोषाध्यक्ष वलराम ढकाल, का.स.स. गीतादेवी सुवेदीलगायतले महोत्सवको आकर्षणको रूपमा रहेको रीतिरिवाज झल्कने साँस्कृतिक झाँकी तथार्‍याली कार्यक्रमलाई विगतको भन्दा पनि भव्य व्यवस्थित गर्नुपर्ने धारणा राखेका थिए। स्वागत मन्तव्य महिला तथा आमा समूह परिचालन उपसमितिका संयोजक दुर्गामाया तमुस्योले गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य भरत तमुले गरेका थिए।

- अादर्श समाज सम्वाददाता