दैलेखमा एमाओवादी र विपक्षीबीच झडप, दुर्इ दर्जन बढी घाइते

काठमाडौं, १० माघ। सत्तारूढ एकीकृत माओवादी र विपक्षी दलका कार्यकर्ताबीच दैलेख सदरमुकाममा झडप भएको छ। झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीसहीत दुवै पक्षका गरी दुर्इ दर्जनबढी घाइते भएका छन्।

पत्रकार डेकेन्द्र थापाका हत्यारामाथिको कारबाही प्रभावित गर्न खोजेको भन्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दल र जिल्ला अधिवेशनमा सहभागी भएका एमाओवादी कार्यकर्ताबीच झडप भएको हो।

झडप नियन्त्रणका क्रममा प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको र लाठी चार्ज समेत गरेको थियो।  एकीकृत नेकपा माओवादीको दैलेख जिल्ला अधिवेशनको उदघाटन गर्न पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी दलहरूले जिल्ला प्रवेशमा रोक लगाउन बन्द कार्यक्रम आह्वान गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

विपक्षी दलका कार्यकर्ताको चर्को नाराबाजीबीच प्रधानमन्त्रीसहित एमाओवादीका शीर्ष नेताहरू हेलिकोप्टरमार्फत दैलेख सदरमुकाम पुगेका थिए। निकै कडा सुरक्षाबीच माओवादीका नेताहरू कार्यक्रमस्थलमा पुगेका थिए। अधिवेशन उद्घाटनपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भाषण गर्दै गर्दा विपक्षी दलका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि माओवादी र विपक्षी कार्यकर्ताबीच झडप भएको थियो। कार्यक्रम बिथोल्न विपक्षीले भिजिलान्ते प्रयोग गरेको भन्दै माओवादीले प्रतिकार गर्ने चेतावनी दिएको थियो। झडपपछि केहीबेर माओवादी कार्यक्रम स्थगित भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसहित, व्यापक लाठी चार्जसहित अश्रुग्यास प्रहार गरेको थियो।

त्यसक्रममा भएको प्रहरी हस्तक्षेपबाट विपक्षी दलका दुर्इ दर्जन कार्यकर्ता घाइते भएका छन्। नेपाली काङ्गे्रस र नेकपा एमालेलगायत विपक्षी दल, सत्तारूढ एकीकृत माओवादी र पत्रकारहरूको छुट्टाछुट्टै विरोध प्रदर्शनका कारण दैलेख सदरमुकामको वातावरण तनावपूर्ण भएको हो।

पत्रकार डेकेन्द्र थापाका हत्यारालाइ जोगाउन लागेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी कार्यक्रम प्रभावित गर्न विपक्षी दलले दैलेखमा बन्द घोषणा गरी आन्दोलनमा उत्रेका थिए। झडप बढ्न सक्ने भन्दै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

माओवादीले बुधबारको कार्यक्रमको समाचार सड्ढलनमा पत्रकारलाई अवरोध सृजना गर्नुको साथै माओवादी कार्यकर्ताले अन्य पत्रकारलाई पनि डेकेन्द्र थापाकै हालत बनाइदिने धम्की दिएका छन्।

माओवादी जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक पार्टीको कार्यक्रम बिथोल्ने विपक्षी दलको निर्णयले सहमतिको सम्भावनालाई पछाडि धकेलेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले विदेशीको डलर खेती गर्नेहरूले दैलेख घटनालाई उचालेको आरोप लगाए। प्रधानमन्त्रीको अभिव्यक्तिपछि आन्दोलनरत विपक्षी दल झनै उत्तेजित भएका थिए। बन्दको क्रममा बन्दकर्ता र सम्मेलन आयोजक पक्षबीच भएको झडपका क्रममा रामपुरडाँडा नजिक भूपेन्द्र थापाको भे३प २३०६ नम्बरको मोटरसाइकल तोडफोड गरी निजलाई कुटपिट समेत गर्दा सामान्य घाइते भएका छन्। साथै काँडेचौरमा रोशन विक र भद्रबहादुर शाहीलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागी घाइते भएका छन्।

यसैगरी कार्यक्रमस्थल नजिक  विन्ध्यवासिनी-७ बस्ने ५८ वर्षीय विष्णु अधिकारीको दायाँ कानमा ढु·ा लागेर सामान्य घाइते भएका छन्। दुवै पक्षका घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, एकीकृत माओवादीका कार्यकर्ताले दैलेखबाट प्रकाशित हुने तेस्रो आँखा साप्ताहिकको कार्यालयमा तोडफोड गरेका छन्। जुलुसमा आएका माओवादी कार्यकर्ताले पत्रिकाको कार्यालयमा ढुङ्गा हानेका थिए। पत्रिकाको कार्यालयमा भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ, पे्रस युनियन र पे्रस चौतारीलगायत सङ्घसंस्थाले विरोध जनाएका छन।

यसैबीच, नेपाली काङ्ग्रेसले सरकारविरुद्ध दैलेख सदरमुकाममा कालो झण्डा देखाइ शान्तिपूर्णरूपमा भएको विरोध प्रदर्शनमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएको छ। नेपाली काङ्ग्रेसले बुधबार एक विज्ञप्ति प्रकाशित गरी शान्तिपूर्ण विरोध कार्यक्रममा वाईसीएल र प्रहरी सँगसँगै मिलेर आक्रमण गरेका भन्दै आपत्ति जनाएको हो।

काङ्ग्रेसले निरड्ढुश सर्वसत्तावादी सरकारले शान्तिपूर्णरूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको मौलिक अधिकारमाथि आक्रमण गरेको आरोप लगाएको छ।

काङ्ग्रेसले राज्यसत्ताको चरम दुरूपयोग गर्दै प्रधानमन्त्रीले निहत्था सर्वसाधारणमाथि वर्वरपूर्ण आक्रमण गरेको भन्दै निन्दा गरेको छ। राज्य र सरकारले जतिसुकै दमन गरेपनि शान्तिपूर्ण आन्दोलन जारी रहने काङ्ग्रेसले बताएको छ।

आक्रमणबाट नेपाली काङ्ग्रेसका सभापति कृष्णकुमार बिसी, सचिव भूपेन्द्र शाही, सहसचिव रेशम विकसहित ४० भन्दा बढी व्यक्ति घाइते भएका काङ्ग्रेसले दाबी गरेको छ। नेपाली काङ्ग्रेसका सचिव भूपेन्द्र शाहीको हाँत भाँच्चिएको छ भने सहसचिव रेशम विकको टाउकोमा गम्भीर चोट लागेको काङ्ग्रेसले जनाएको छ।

यसैबीच, आक्रोशित विपक्षी दलका कार्यकर्ताले दैलेखमा एकीकृत माओवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

- अादर्श समाज सम्वाददाता