फ्रेण्ड्स क्लबसँग आर्मीले बदला लियो

पोखरा, १० माघ। काठमाडौंमा जारी ए डिभिजन लिगको पछिल्ला खेलमा राम्रो लय समात्दै सुपर लिगमा प्रवेश गरेको त्रिभुवन आर्मी क्लबले  त्यसैलाई निरन्तरता दिँदै पोखरामा जारी ११ औं आहाझ् रारा गोल्ड कप फुटबल प्रतियोगितामा पनि राम्रो सुरुवात गरेको छ।

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा बुधबार पोखरा र·शालामा भएको खेलमा उसले दोस्रोपटकको आमनेसामनेमा फ्रेण्ड्सलाई ३-० को नमीठो हार चखाउँदै पहिलो चरणबाटै बिदाइ गर्‍यो।यो जीतसँगै आर्मीले फ्रेण्ड्स क्लबसँग पोखरामै पाँच वर्षअघिको हारको बदला लिन सफल भयो।

छैटौं आहा गोल्डकपमा निर्धारित समय गोलरहित बराबरीपछि टाइब्रेकरमा ४-१ ले फ्रेण्ड्ससँग पराजित हुँदै पहिलो चरणबाटै आर्मी बाहिरिएको थियो।लिगमा पनि यी दुवै टोली गोलरहित बराबरी खेलेका थिए। आर्मीका लागि रामकुमार विश्वास, टेकबहादुर बुढाथोकी र दीप लामाले एक-एक गोल गरे।आर्मीले अब माघ १४ गते नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ। दुवै टीममा स्तरीय खेलाडी भएकोले यी दुवै टीमको प्रतिस्पर्धा घमासान हुने अनुमान गरिए पनि राष्ट्रिय टीमको क्लोज क्याम्पमा सहभागी हुन फ्रेण्ड्सका छ तथा आर्मीका चार गरी १० जना खेलाडी एक्कासी बिहान काठमाडौं फर्किएपछि दोस्रो दिनको खेल केही खल्लो देखिएको थियो। तर पनि फिजीकल्ली बलियो आर्मीले बाजी मार्‍यो। माघ १४ गतेदेखि खेलाडीलाई क्लोज क्याम्पमा बोलाइने घोषणा गरिए पनि अचानक चार दिनअघि नै बोलाइएपछि पोखरामा आएका दुवै टीम आर्श्चर्यमा परेका थिए।

राष्ट्रिय टीमकोचले बोलाएको र नगए एन्फाले कारबाही गर्ने भनेपछि आफूहरू  खेलाडी पठाउन बाध्य भएको र सोही कारण पराजित हुनुपरेको पोस्ट म्याच कन्फेरेन्समा फ्रेण्ड्सका प्रशिक्षक कुमार प्रधानले बताए।

उनले लिगमा डुडोज, वोमरलगायतका केही खेलाडी घाइते भएकोले पनि खेल जित्न गाह्रो भएको प्रतिक्रिया दिए।

फ्रेण्ड्सबाट राष्ट्रिय टीमका कप्तान सागर थापा, दीपक भुसाल, निराजन खड्का, जगजीत श्रेष्ठ, प्रकाश बुढाथोकी र सन्तोष तामाङ क्लोजक्याम्पमा परेका छन्।यस्तै क्लोज क्याम्पसमा आर्मीबाट जीतेन्द्र कार्की, राजु तामाङ, भरत खवास र नवयुग श्रेष्ठ छन्।उनीहरू १० जना बिहान हवाईजहाजमार्फत काठमाडौं फर्किएका थिए।

फ्रेण्ड्सले सुरुवातमै गोलका केही राम्रा अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। खेलको १५ मिनेटमै डुडोजको क्रसमा रितेश मल्लले सिक्सयार्डभित्रबाट हानेको प्रहारलाई विपक्षी गोलकिपर गंगाराम देउजाले मुस्किलले बँचाए।तर त्यसको १५ मिनेटमा आर्मीले गोल फर्कायो।

विपक्षी दीपक गुरुङलाई विट गर्दै डिबक्सभित्र छिराएको बललाई गोलकिपर बसिरले पञ्च गरेर फालेपछि प्राप्त टंक बस्नेतको कर्नरलाई सदुपयोग गर्दै रामकुमार विश्वासले हेडमार्फत बललाई जाली चुमाए। अनमार्क रहेका रामकुमारले जम्प गरेर फस्ट बारमै हेडिङ गरेका थिए। एक गोलले पछि परेको फ्रेण्ड्सलाई बराबरी गर्न ४१ मिनेटमा एउटा उत्कृष्ट अवसर मिलेको थियो तर त्यसमा रितेश मल्ल फेरि एकपटक चुके। सिक्स यार्ड बक्सनजिक फस्ट टचमा अलमलिएका रितेशले सेकेण्ड टचमा डुडोजलाई छक्याउँदै हानेको प्रहारले पोस्टको दिशा लिन सकेन र बल क्रसबारमा लागेर बाहिरियो।त्यसको चार मिनेटपछि डुडोजको कर्नर प्रहारलाई आर्मीका गोलकिपरले एक हातले पञ्च गर्दै बाहिर फालेका थिए।

दोस्रो हाफमा भने आर्मी हाबी देखियो।त्यसको प्रमाण उसले लगातार दुर्इ गोल थपेकोले पनि पुष्टि गर्छ।विपक्षीको बल बचाउने प्रयासमा घाइते भएका गोलकिपर बसिर चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएपछि बाँकी दोस्रो हाफ फ्रेण्ड्सको पोस्ट दीलिप लामाले सम्हालेका थिए।

दोस्रो हाफको १८ मिनेटमा टंक बस्नेतले डिबक्सनिजकैबाट खाली पोस्टमा हानेको बल सेकेण्डबार हुँदै बाहिरियो।विपक्षीविरुद्ध निरन्तर दबाब दिएको आर्मीले २४ मिनेटमा गोल थप्यो।

फ्रेण्ड्सका सेकेण्ड लास्ट डिफेण्डर पिटरले डिबक्सभित्र ह्याण्ड गरेपछि फिफा रेफ्री लव खत्रीले आर्मीलाई पेनाल्टी हान्ने अवसर दिएका थिए त्यसमा टेकबहादुर बुढाथोकी कत्ति पनि चुकेनन्।उनको प्रहारले गोलकिपर दीलिपलाई जिल्याउँदै जाली चुम्यो।

दुर्इ गोलले पछि परिसकेको फ्रेण्ड्सले ३२ मिनेटमा पुनः तेस्रो अवसर गुमायो। डुडोजले डिबक्सभित्र निकालिदिएको छोटो पासलाई वोमरले  अल्छी गर्दा आर्मीका युद्ध शाहीले क्लियर गरिदिए।लगत्तै डुडोजकै कर्नर पनि आर्मीका क्याप्टेन महेन्द्र खवासले सिक्सयार्ड बक्सभित्रैबाट हेडिङ गर्दै असफल पारिदिए।

निर्धारित समय सकिन तीन मिनेटअघि आर्मीका हरि महतो सुन्दर गोल गर्न असफल भए। एकल प्रयासमा आफैले डिबक्सभित्र छिराएको बलमा हतारिएपछि बलमाथिको नियन्त्रण गुमाए र बल फस्टबारबाट बाहिरियो।

तर चार मिनेट थपिएको इन्जुरी टाइमको दोस्रो मिनेटमा आर्मीका लागि दीप लामाले तेस्रो गोल थपे। सन्तोष नेपालीले डिबक्सनिजकैबाट मिलाइदिएको उत्कृष्ट क्रसलाई दीपले फस्टबारमै लेफ्ट फुटको सहायताले पोस्टमा चुमाए। सो खेलमा सन्तोष म्यान अफ दी म्याच घोषित हुँदै नगद एक हजार र ट्रफी प्राप्त गरे। जीतपछि आर्मीका प्रशिक्षक शैला महर्जनले केटाहरूले गरेको मेहनतअनुसारको फल प्राप्त भएको प्रतिक्रिया दिए।उनले भरत, नवयुग, राजु र जीतेन्द्रको अभावलाई खेलाडीहरूले महसुस गर्न नदिएको बताए। आहा गोल्डकपमा दुर्इपटक फाइनलमा पुगेर पुलिसँग हारेको आर्मी यसपटक क्वाटरफाइनलमै भेट भए पनि खेल जित्ने दाबी गर्दै प्रशिक्षक महर्जनले भने-’हामी यसपटक पुलिसलाई जित्न चाहन्छौं र जित्छौं पनि।’ लिगमा पनि आर्मी पुलिससँग २-१ ले पराजित भएको थियो।  सो खेलमा आर्मीका टंक बस्नेत, सञ्जीव मोक्तान र रामकुमार विश्वास तथा फ्रेण्ड्सका दुदराज भट्टराई र वोमारलाई रेफ्रीले एलोकार्ड देखाएका थिए। बिहीबार भारतको साउदर्न समिति र नेपाली टीम आरसिटीबीच प्रतिस्पर्धा हुनेछ।

- प्रेमनारायण न्यौपाने