प्रतिपक्षको सत्तामोह नै सहमतिको बाधक : शेरचन निर्वाचन गराउने लाइसेन्स काङ्ग्रेससँग छैन : पोखरेल

पर्वत, १० माघ। एनेकपा माओवादीका नेता अमिक शेरचनले प्रतिपक्षी दल काङ्ग्रेस, एमालेबाट प्रधानमन्त्रीको कुर्चीबाहेक अन्य एजेण्डा नल्याउँदा दलहरुबीच सहमति हुन नसकेको बताएका छन्।

एनेकपा माओवादी पर्वतको दोस्रो अधिवेशनको बुधबार कुश्मामा उद्घाटन गर्दै शेरचनले एमाओवादीले सबैलाई मान्य हुने प्रस्ताव गरिरहँदा पनि विपक्षी दलहरु सधैँ प्रधानमन्त्रीकै कुर्चीबाहेक अन्त आँखा नलगाउँदा अर्को संविधानसभा निर्वाचन अनिश्चित भएको बताए।

‘कुर्चीलाई पहिलो प्राथमिकता राखेर दलहरुबीच सहमति हुन सक्दैन’-उनले बिपक्षी दलसमक्ष आग्रह गरे-’संविधानसभाबाटै संविधान बन्ने सुनिश्चिततालाई पहिलो प्राथमिकता बनाउनुस्, सरकार होइन।’ उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफूले ५२ वर्ष बिताए पनि टुटफुट, गुटउपगुटले गर्दा लक्ष्य प्राप्त गर्न नसकिएको बताए।

अर्का नेता लीलामणि पोखरेलले काङ्ग्रेसले निर्वाचन गराउने लाइसेन्स पाइझैं गरी आफ्नै नेतृत्वमा निर्वाचन हुनुपर्छ भन्नु नै विडम्बना भएको बताए। ‘के निर्वाचन गराउने काङ्ग्रेसले लाइसेन्स पाएको छ र -’- उनले प्रश्न गरे। उनले अर्को सरकार बनाउनुभन्दा पनि अहिलेकै सरकार वैधानिक भएकोले यही सरकारले निर्वाचन गराउनुपर्नेमा जोड दिए। उनले एमाओवादीले अन्तिम लक्ष्य सत्ताकब्जा भए पनि सरकारको नेतृत्व गर्दैमा त्यो पूरा नहुने बताए।

सेना, प्रहरी, प्रशासन र न्यायालय पूर्णरूपमा आफ्नो नियन्त्रणमा नआएसम्म सरकारको नेतृत्व गरेर मात्रै सत्ताकब्जा नहुने उनको भनाइ थियो। ‘प्रतिपक्षले एमाओवादीले सत्ताकब्जा गरेको भाषणबाजी गरिरहेका छन् तर हामी सरकारमा मात्रै छौं, सत्ताकब्जामा छैनौं’-पोखरेलले भने-’जुन दिन सेना, प्रहरी, प्रशासन र न्यायालय हाम्रो नियन्त्रणमा हुन्छ, त्यो नै सत्ताकब्जा हो।’

कार्यक्रममा एमाओवादीकै नेताद्वय लोकेन्द्र बिष्ट र डिलाराम आचार्यले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधान निर्माणको एजेण्डालाई एमाओवादीले नछाड्ने बताए। एमाओवादी पर्वतका इन्चार्ज नेत्र अधिकारीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा नेपाली काङ्ग्रेस पर्वतका सभापति लालकाजी गुरुङ, नेकपा एमाले पर्वतका अध्यक्ष विकास लम्साल, राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष टेकबहादुर आले, नेकपा एकीकृत पर्वतका सचिव तेजेन्द्र पौडेललगायतले अधिवेशनको शुभकामना दिएका थिए। बिहीबार सम्पन्न हुने अधिवेशनले १२ जना केन्द्रीय प्रतिनिधि चयन गर्ने छ।

- अादर्श समाज सम्वाददाता