विपक्षीले सरकारविरुद्ध आज थप आन्दोलन घोषणा गर्ने

काठमाडौं, ९ माघ। नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायत विपक्षी दलहरूले सरकारविरुद्ध बुधबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका छन्।

विपक्षी नौ दल सम्बद्ध कार्यदलको म·लबार बसेको बैठकले सरकार विरुद्ध राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो।

कामचलाउ सरकारका जनविरोधी, राष्ट्रविरोधी र तानाशाही एवं सर्वसत्तावादी क्रियाकलापविरुद्ध पूर्व निर्धारित विरोधका कार्यक्रम सफल बनाउनेबारे छलफल भएको काङ्ग्रेस पार्टीकार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

काङ्ग्रेस पार्टीकार्यालयमा दिउँसो पत्रकार सम्मेलन गरी भावी कार्यक्रमको पूर्व तयारीलगायतका विषयमा जानकारी गराउने ती दलले जनाएका छन्।

यसैबीच, प्रतिपक्षी दलका नेताहरूले वर्तमान सरकारले सहमतिको राजनीतिको बाटोलाई अन्त्य गरिदिएकाले सडक आन्दोलनबाट सरकार हटाउने आन्दोलनको सुरुवात गरिएको बताएका छन्।

संविधानसभाबाट संविधान जारी हुने अवस्था हुँदाहुँदै पनि संविधानसभा विघटन गरी सत्ता लम्ब्याउने खेलमा पूर्व नियोजितरूपमा सरकारमा सहभागी दलहरू लागेको भन्दै उनीहरूले नयाँ निर्वाचन गराउन नचाहेको आरोप लगाए।

राजधानीमा मङ्गलबार भएको कार्यक्रममा विपक्षी दलका नेताहरूले मुखमा सहमति भने पनि व्यवहारमा वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको राजनीति नगरेको आरोप लगाउँदै वर्तमान सरकारलाई आन्दोलनबाटै हटाउने जिकिर गरेका हुन्।

नेपाली काङ्ग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नयाँ निर्वाचनमा जानुपर्ने र यसका लागि आफ्नो पार्टीका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार बनाउनु जरूरी भएको बताए।

एकीकृत नेकपा माओवादीले निर्वाचन भने पनि निर्वाचन गराउने वतावरण तयार नगरेको भन्दै छिटो सहमतिका माध्यमबाट निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो।

नेकपा एमालेका सचिव युवराज ज्ञवालीले एनेकपा माओवादीले एमाले र नेपाली काङ्ग्रेसलगायत अन्य विपक्षी दललाई निषेधको राजनीति गरेकाले सरकारका विरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए।

कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राजनीतिक सहमति नभइ प्रधानमन्त्रीले पदबाट राजीनामा नदिने बताउँदै छिटो सहमतिमा पुग्नुको अर्को विकल्प नरहेको बताए।

- अादर्श समाज सम्वाददाता