सर्वसत्तावादी चिन्तन नत्यागे एमाओवादी आफै समाप्त हुन्छः कोइराला

काठमाडौं, ९ माघ। नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीले सर्वसत्तावादी चिन्तन नत्यागे आफै समाप्त भएर जाने चेतावनी दिएका छन्। कोइरालाले अन्य दललाई नधम्क्याउन एमाओवादीलाई चेतावनी दिँदै सक्ने भए फेरि जङ्गल फर्किएर देखाउन चुनौती दिए।

नेपाली काङ्ग्रेस चितवनले म·लबार आयोजना गरेको कार्यक्रममा कोइरालाले माओवादीले सर्वसत्तावाद लाद्ने मानसिकता बिसर्न सकेन भने उसको हालत राणा, पञ्चायत र राजतन्त्रको जस्तो हुने दाबी गरे।

नेपाली काङ्ग्रेसलाई कसैले पनि छक्याएर र भुलाएर सर्वसत्तावादी शासन लाद्ने कुचेस्टा नगरे हुन्छ भन्दै उनले प्रजातन्त्रका मूलभूत कुरासँग काङ्ग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताए।

उनले साहस भए विगतमा भएको बाह्रबुँदे सम्झौतालाई च्यातेर देखाउन चुनौती दिँदै दम्भका कुरा गरेर कोही नतसर्ने स्पष्ट पारे। एमाओवादीका अध्यक्षले धम्की र व्रि्रोहका कुरा गर्नु हास्यास्पद भएको भन्दै कोइरालाले मुलुकको अस्तित्वका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए।

सभापति कोइरालाले शान्ति, स्थायित्व, लोकतन्त्र र समृद्धिका लागि काङ्ग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए।

वर्तमान सरकारलाई परास्त गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतलाई बुझाउन आन्दोलन थालिएको बताउँदै उनले पार्टीका तमाम नेता र कार्यकर्ताको सहयोग भएमा आन्दोलन निर्णायक बिन्दुमा पुगेरै छाड्ने विश्वास व्यक्त गरे।

यसैबीच, सभापति कोइरालाले वर्तमान सर्वसत्तावादी सरकार विरुद्धको आन्दोलनका लागि तयार रहन काङ्ग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन्।

मुलुकलाई निकास दिन प्रधानमन्त्री बाबुराम भट्टराईले मार्ग प्रशस्त गर्नुको सट्टा सरकार स्वेच्छाचारी ढङ्गले अघि बढ्न खोजेकोले आन्दोलनको विकल्प नभएको उनको भनाइ छ। कोइरालाले आन्दोलनका बलमै सरकारलाई परास्त गर्ने चेतावनी दिएका हुन्। सहमतिका लागि आफूहरूले आग्रह गरिरहे पनि सत्तालिप्साका कारण प्रधानमन्त्रीले सरकार नछाडेको सभापति कोइरालाले आरोप लगाए।

‘अहिले हामीले पहिलो चरणका कार्यक्रम घोषणा गरेका छौँ, कडा आन्दोलनको आवश्यकता हुन सक्छ’-उनले भने-एमाओवादी र सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन म तपाईंहरूलाई आग्रह गर्छु।’

- अादर्श समाज सम्वाददाता