‘दाहाल प्रधानमन्त्री बन्ने कुरा ठट्टा मात्रै’

काठमाडौं, ९ माघ। एकीकृत माओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीअध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने अभिव्यक्ति ठट्टा मात्रै भएको दाबी गरेका छन्।

अध्यक्ष दाहालमा अहिले प्रधानमन्त्री बन्ने लालसा नभएको प्रधानमन्त्री भट्टराईको जिकिर छ। ताप्लेजुङ सदरमुकाम फुङलिङमा मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराइले अध्यक्ष दाहालको भनाइ केवल ठट्टा मात्र भएकोले गम्भीरतापूर्वक लिनु नपर्ने बताएका हुन्। यसअघि गोरखामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नयाँ सरकारको प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखाएका थिए।

प्रधानमन्त्री भट्टराइले आफू जननिर्वाचित संसद्बाट चुनिएको प्रधानमन्त्री भएकोले आफूलाई हटाउन वैधानिक निकाय आवश्यक रहेको जिकिर गरे। उनले काङ्ग्रेस वा एमालेको नेतृत्वमा सहमतीय सरकार गठनको सम्भावना नभएको भन्दै साना दल वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउन सकिने बताए। प्रधानमन्त्री भट्टराईले आगामी जेठको दोस्रो साता सम्म भए पनि निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरे।

यसैबीच, पार्टीको ताप्लेजुङ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने भनेर सञ्चार माध्यममा आएको आफ्नो कुरा ठट्टा मात्र भएको बताए। प्रधानमन्त्री बन्ने कुरा आफूले ठट्टा गरेर बोले पनि सञ्चार माध्यमले महत्त्व दिएको दाहालले भनाइ थियो।

- अादर्श समाज सम्वाददाता