लेखनाथ महोत्सवको तयारी तीव्र

लेखनाथ, ८ माघ। महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराको साथ माघ २६ देखि फागुन ८ सम्म सञ्चालन हुन लागेको नवौं लेखनाथ महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढेको छ।

आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीव्र गतिले अगाडि बढेको र करिब ९० प्रतिशत कार्य सम्पन्न भएको जानकारी गराएको हो।

समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासका लागि सञ्चालन हुने नवौं महोत्सवलाई सफल पार्नका लागि गठन गरिएका विभिन्न उप समितिले आ-आफ्नो तयारीलाई तीव्ररूपले अगाडि बढाएका छन्। महोत्सवमा रहने करिब तीन सय स्टलमध्ये अटोतर्फका केही स्टलबाहेक सबै स्टल बुक भइसकेको महोत्सवका मुल संयोजक सुमन भट्टराईले जानकारी दिए।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवभित्रको पनि महोत्सवका रूपमा सञ्चालन गर्नका लागि यसपटकको महोत्सवमा विगतका वर्षमा जस्तै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको साथमा औद्योगिक उत्पादन, हस्तकलाका सामानको प्रदर्शनी, दैनिक उपभोग्य सामग्री, कृषि उत्पादन, सूचना तथा विद्युतीय सामग्री र फूड फेस्टीवलका  लगायतका स्टल रहने भएका छन्।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सवका मुल संयोजक सुमन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा महोत्सवका सहसंयोजक एवं प्रचार-प्रसार उपसमितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले विगतका महोत्सवभन्दा यस वर्षको महोत्सवलाई प्रभावकारी र थप मनोरञ्जन दिनका लागि छुट्टै खालका कार्यक्रम सञ्चालन गरिने र मूल्य सूचीका आधारमा सुपथ मूल्यमा सामानको बिक्री वितरण गरिने व्यवस्था मिलाइएको जानकारी दिए।

लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव बाबुराम गिरीले सञ्चालन गरेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष बाबुराम जमरकट्टेल, मुख्य प्रायोजक सफल दूधका चन्द्रबहादुर राजभण्डारी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत शिवप्रसाद रिजाल, अपी फाइनान्सका प्रबन्ध सञ्चालक धु्रवराज तिवारीलगायतले आफ्नो धारणा राखेका थिए। लेखनाथ नगरपालिकाको प्रस्तावित र·शाला भण्डारढिक खेल मैदानमा हुने महोत्सव अवधी भर करिब तीन लाख ५० हजार दर्शक र करिब १५ करोडसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

- अादर्श समाज सम्वाददाता